काठमाडौं । देशको अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा अत्याधुनिक ‘इला होटल एन्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ ।
सोमबार विशेष समारोहबीच औपचारिक उद्घाटनपछि यो होटल तथा रिसोर्ट आम सेवाग्राहीका लागि खुला हुने बताइएको छ ।
मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित यो होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
६५ वटा सुइट र डिलक्स कोठा, एक हजार जनाको क्षमतासहितको भव्य बैंक्वेट तथा सम्मेलन हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र आधुनिक जिमजस्ता सुविधासहितको यो रिसोर्ट मौलाकाली क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
केबलकारसँगैको संरचना भएकाले यो परियोजनाले नारायणी, देवघाट, त्रिवेणी लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूप्रति आकर्षण बढाउनुका साथै प्राकृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ ।
आइएमई ग्रुपले हाल देशका सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका पर्यटकीय पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा आइसकेका छन् भने दुई प्रदेशमा होटलसहितको परियोजना पूर्णरूपमा सञ्चालनमा आएका छन् ।
लुम्बिनी प्रदेशको बसन्तपुरमा लुम्बिनी केबलकारको टप स्टेशनमा होटल निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा केबलकार, होटल तथा रिसोर्ट एकसाथ निर्माण भइरहेका छन् । त्यहाँ एक वर्षभित्र केबलकार सञ्चालनमा आउने तथा त्यसपछि होटल तथा रिसोर्ट पनि सेवा दिन सुरु गर्ने योजना रहेको छ ।
यसैबीच पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा समेत केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ, जसले धार्मिक पर्यटनमा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।