जलविद्युत् ‘हब’ बन्दै लमजुङ, ३०० मेगावाट बिजुली उत्पादन, ११ आयोजना निर्माणाधीन

काठमाडौं । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् ।

लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मर्स्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मर्स्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी-१, ७ मेगावाटको उपर मिदिम, ५ मेगावाटको सिउरी खोला तथा ४.४ मेगावाटको राँधी खोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

त्यसैगरी ४/४ मेगावाट क्षमताको खुदी खोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, ३ मेगावाटको मिदिमखोला, २.४ मेगावटको अपर स्याँगे खोला, २ मेगावाटको छन्दीखोला, १८३ किलोवाटको  स्याँगे माइक्रो  हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ । 

जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् लाइन केही केही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताए। उनका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म २ करोड ३९ लाख, ८ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको छ । सोबाट १९ करोड ५३ लाख ५४ हजार रुपैयाँ उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । 

सोमध्ये मर्स्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४०.२७, अपर खुदी २१.२१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला-१ आयोजनाबाट १३.४२४, १२.६ मेगाावट क्षमताको लोयर न्यादी, ६.८२ मेगावाट क्षमताको हिदीखोला, ४.८ मेगावाट क्षमताको  मिडिल मिदिम, २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड, १.६ मेगावाटको  लोदोखोला साना आयोजना र ०.९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुङमा २ हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।

Share News