एसियाली बजारको सहाराले चीनको निर्यातमा तीव्र वृद्धि, अमेरिकासँगको व्यापार गिरावट सन्तुलन

काठमाडौं । चीनको निर्यात अप्रिलमा तीव्र रूपमा बढेको छन् । जसको कारण दक्षिणपूर्वी एसियाली देशहरूमा पठाइएका सामानहरूको उल्लेखनीय वृद्धि हो । 

निर्यातमा वृद्धि भएसँगै गत महिनादेखि लागू भएका उच्च अमेरिकी शुल्कका कारण अमेरिकातर्फ पठाइएका सामानमा आएको तीव्र गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ ।

शुक्रबार चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ८.१ प्रतिशतले बढेको छ, जुन रोयटर्सको १.९ प्रतिशत वृद्धिको अनुमानभन्दा धेरै माथि हो ।

तर, आयात भने अप्रिलमा ०.२ प्रतिशतले घटेको छ, जबकि अर्थशास्त्रीहरूले ५.९ प्रतिशतको गिरावटको अपेक्षा गरेका थिए ।

सीएनबीसीले आधिकारिक भन्सार तथ्यांकको आधारमा गरेको गणनाअनुसार अप्रिलमा चीनको अमेरिकातर्फको निर्यातमा वार्षिक २१ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अमेरिकाबाटको आयात लगभग १४ प्रतिशतले घटेको छ ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङका अनुसार निर्यातमा आएको वृद्धि आंशिक रूपमा तेस्रो देशमार्फत ट्रान्सशिपमेन्ट तथा शुल्क घोषणा हुनुअघि भएका सम्झौताका कारण हुनसक्छ । झाङले आगामी केही महिनामा व्यापार तथ्यांक कमजोर हुँदै जाने अपेक्षा गरेका छन् ।

अप्रिलमा चीनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (एएसईएएन) तर्फको निर्यात गत वर्षको तुलनामा २०.८ प्रतिशतले वृद्धि भएको छ, जुन मार्चको ११.६ प्रतिशतको वृद्धिभन्दा तेज हो । त्यस्तै, सो क्षेत्रबाट आयात २.५ प्रतिशतले बढेको छ ।

यसैबीच चीनको युरोपेली आयोग (ईयू) तर्फको निर्यात ८.३ प्रतिशतले बढेको छ भने आयात वार्षिक रूपमा १६.५ प्रतिशतले घटेको छ ।

मार्चमा चीनबाट विश्वभर पठाइएका सामानमा १२.४ प्रतिशतको वार्षिक वृद्धि भएको थियो, किनकि व्यवसायहरूले उच्च शुल्क लागू हुनु अघि सामान निर्यात गर्न हतार गरेका थिए । तर, आयात भने ४.३ प्रतिशतले घटेको थियो, जसले चीनको आन्तरिक माग पुनःउत्थान गर्ने चुनौतीलाई देखाउँछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १४५ प्रतिशत शुल्क लगाएका छन्, जसको जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत शुल्क लगाएको छ । हालसम्म दुवै पक्षले अत्यधिक शुल्कको आर्थिक प्रभावलाई कम गर्न केही महत्त्वपूर्ण वस्तुहरूमा छुट दिएका छन् ।

एएनजेड बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री रेमण्ड यिउङका अनुसार अप्रिलको अन्त्यतिर चीनबाट अमेरिका जाने कन्टेनर जहाजहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ ।

चिनियाँ सरकारले निर्यातकर्ताहरूलाई आफ्ना उत्पादनहरू घरेलु बजारमा मोड्न सहयोग गर्दै आएको छ, जुन कदमले अर्थतन्त्रलाई अझ गहिरो डिफ्लेसन (वस्तु तथा सेवाहरूको मूल्यहरू सामान्यतः घट्ने अवस्था) तर्फ लैजान सक्छ ।

ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा

एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन
 

Share News