काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित विद्युत नियमन आयोगको छैटाैं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन् ।
उनले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादनसँगै प्रशारण, विक्री वितरणमा समेत जोड दिएको बताए । उनले सेवा पुर्याउने क्रममा केही अप्ठ्याराहरू सिर्जना भए विद्युत नियमन आयोगसँग सहकार्य गर्ने सुनाए ।
अहिले पनि ऊर्जा क्षेत्रमा हुनुपर्ने नियमन हुन नसकेको संकेत गर्दै शाक्यले आगामी दिनमा विद्युत नियमन आयोगले त्यस्तो नियामकीय अभावलाई पूरा गर्दै जानुपर्नेमा जोड दिए ।
उनका विद्युत प्राधिकरणले आफै गर्दै आएका कतिपय नियमनहरू विद्युत नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई विस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पारे ।
उनका अनुसार डेडिकेटर फिडर तथा ट्रंकलाइनको पुनरावलोकन सम्बन्धमा नियमन आयोगबाटै जाँचबुझ हुनुपर्थ्याे तर त्याे हुन सकेन । आगामी दिनमा आयोगको क्षेत्राधिकारलाई विद्युत प्राधिकरण नमिच्ने उनको भनाइ रहेको छ ।
शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरुले तयार गरेको आधारशिलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताए ।
उनका अनुसार द्रुत गतिमा ब्याट्री इनर्जी स्टोरेज सिस्टम, पम्प स्टोरेज पावर पलान्ट, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटी मार्केट जस्ता केही पहिचान भएका क्षेत्रको समेत विद्युत् नियमन आयोगबाट नियमन हुनुपर्छ ।
हालको विद्युत ऐनमा केही दुविधाहरू रहेर आयोजनाहरूको काम अघि बढ्न कठिनाइ भए त्यसमा पनि आयोगले सहजिकरण गर्नुपर्ने शाक्यको भनाइ छ ।
ऊर्जा क्षेत्रमा रहेका समस्या र लगानीमैत्री वातावरणका लागि अहिले संसदमा विद्युत विधेयक विचाराधीन रहेको उनी बताउँछन् ।