सम्पदा लघुवित्तले माग्यो सीईओ, तलब र अन्य सुविधा आपसी समझदारीमा तय गरिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन गर्ने भएको छ । लघुवित्तले सीईओका लागि आवेदन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिलाई वैशाख ३० गतेभित्र दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।

लघुवित्तको सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातक गरेको हुनुपर्नेछ । सागै, बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो संस्थाको अधिकृत तथा सोभन्दा माथिको पदमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तहमा कम्तीमा ५ वर्ष वा व्यवस्थापकीय तहमा रही कम्तिमा १० वर्षको कार्य अनुभव हासिल गरेको, उच्च सम्पर्क र समन्वय गर्न सक्ने क्षमता भएको, लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना र समाधानको लागि प्रतिवद्ध एवम् स्थलगत कार्य सम्पादन गर्न सक्षम र योग्य उम्मेदवारलाई विशेष ग्राह्यता दिइने लघुवित्तले जनाएको छ । 

लघुवित्तको सीईओका लागि आवेदन दिँदा ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ ।

लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्ट लिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यावसायिक योजना, प्रस्तुतीकरण र अन्तर्वार्तामा सामेल गराइनेछ ।

Share News