काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नियमति भेटघाट तथा छलफल हुन थालेको छ । विगतमा कुनै सहमति तथा सम्झौता गर्नुपरेमा एक भेटमै काम फत्ते गर्ने देउवा यस पटक भने प्रधानमन्त्री ओलीसँग बाराम्बार छलफल गरे ।
उनले यस पटक ओलीसँग भेटघाटलाई बढावा दिनुकै एउटै कारण हो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति । उनले प्रधानमन्त्री ओलीसँग जसरी भए पनि गभर्नर नेपाली काँग्रेसको भागमा पर्नुपर्ने अडान राखेका छन् ।
यसअघि नै ओली र देउवाबीच गभर्नर नियुक्तिको लागि सहमति भइसकेको विषय बाहिर आएको थियो । उनीहरुबीच गभर्नर नेपाली काँग्रेसले पाउने सहमति भएको विषयले पनि चर्चा पाएको थियो ।
नेपाली काँग्रेसको भागमा गभर्नर परेपछि डा. गुणाकर भट्ट नै गभभर्नर बन्ने चर्चा भएको थियो । देउवाले भट्टको नाम ओलीसँग राखेपछि ओली पनि त्यसमा सहमत भएका थिए । दुई नेताको सहमतिपछि डा. भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।
त्यसपछि उनको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदनलाई अस्वीकार गरेको थियो । त्यससँगै डा. भट्टको गभर्नर बन्न सक्ने बाटो पनि खुल्ला भएको छ ।
अदालतको उक्त निर्णयसँगै प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको बुझिएको छ ।
उनीहरुको यो भेट भोलिको नीति तथा कार्यक्रम, गभर्नर नियुक्ति र समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको नेपाली काँग्रेसनका एक नेताले जानकारी दिए । सम्भवतः गभर्नरको विषयमा दुई नेताबीच सहमति हुने यो अन्तिम भेटवार्ता हो । स्रोतका अनुसार शुक्रबार वा आइतबारभित्र गभर्नर सिफारिस समितिलाई तीन जनाको नाम सिफारिस गर्न लगाएर सोमबारको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्न सक्ने सम्भावना छ ।
सरकारले रिक्त रहेको गभर्नर सिफारिस समितिमा बुधबार निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिसकेको छ । दुई नेताबीच अन्तिम सहमति भइसकेर नाम फिक्स भएपछि बैठक बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी अर्थमन्त्री तथा सिफारिस समितिका संयोजक विष्णु पौडेलले गरेको बुझिएको छ ।