श्रमिक दिवस : आउट सोर्सिङको नाममा ठूला उद्योगीले दुःख दिने गरेको गुनासो, पारिश्रमिक पाउनै सकस

काठमाडौं । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा ट्रेड युनियनका नेताहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर श्रमिक क्षेत्रमा परेको बताएका छन् । उनीहरूले जलवायु संकटले विशेषतः अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूलाई बढी असर पारेको भन्दै गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरे ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले ठूला उद्योगी-व्यवसायीहरूले आउटसोर्सिङका नाममा श्रम शोषण गरिरहेको आरोप लगाउँदै ट्रेड युनियनहरूको खबरदारी पर्याप्त नपुगेको स्वीकार गरे । उनले व्यवहारिक रूपमा श्रम ऐन र सामाजिक सुरक्षाको कार्यान्वयन नहुँदा श्रमिकको जीवनमा अपेक्षित सुधार आउन नसकेको बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनका कारण श्रमिकहरूको कार्यथलो बदलिँदै गएको र शोषणका रूपहरू पनि बदलिएको उल्लेख गरे । उनले प्राप्त कानुनी अधिकार व्यवहारमा लागू गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरू जलवायु परिवर्तनबाट अझ बढी प्रभावित भएको बताए । बाढी, पहिरो र असामान्य मौसमी अवस्थाले उनीहरूको रोजगारी गुम्ने अवस्था आएको उल्लेख गर्दै, नीति निर्माण भए पनि कार्यान्वयन कमजोर रहेकोमा सरकारको ध्यानाकर्षण गराए ।

जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिक पितृसत्तात्मक सोच र जलवायु परिवर्तन दुबैको दोहोरो मारमा परेको बताइन् । उनले घरायसी दायित्वका कारण महिलाले कामको समय कटौती गर्नु परिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेताहरूले ‘दैनिक आठ घण्टा काम, आठ घण्टा आराम’ भन्ने सिद्धान्त व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै श्रमिक अधिकारका सवालमा एकीकृत आवाज उठाउनुपर्नेमा जोड दिए ।

Share News