परिवारसहित क्लब आउने वातावरण एलओडीले बनायो : भूपेन कुँवर

काठमाडौं । ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दैन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईंहरूको अगाडि उभिन सफल बनाएको छ,’ एलओडी क्लबका निर्देशक भूपेन कुँवर दार्शनिक सुनिए । 

दैनिकजसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो । हामीले यहाँ आएका पाहुनालाई निराश होइन, कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थे उनी । 

ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्ताहिक विदा विशेष कार्यक्रममा मात्र पुग्छन्। 

ठमेल किन कोही किन आउँछन होला ? यो प्रश्नले कुँवरलाई धेरै समयसम्म घोँचिरह्यो । ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ–आफ्ना अनुभव छन् । अझ भनौं तीता–मिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भूपेनलाई पनि छोपेको थियो । 

सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औं उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो । जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए । एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए ।

‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौं,’ कुँवरले भने, 'हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।’

क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो । क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ । मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्न सक्नु क्लबको दायित्त्व हो । 

डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ । 

भूपेनका अनुसार क्लबमा १५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्याएको कुँवर बताउँछन् ।

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । 'व्यवसायमा उतारचढाव आइरहँदो रहेछ, यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजुबत हुने अवसरको रुपमा लिनुपर्ने रहेछ,’ उनले भने । 

क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ । 

उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र ? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’  उनले अगाडि थपे, 'यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’

कुँवर ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन् । 

उनका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ । लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन् । 

Share News