काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक कार्यशाला सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय बैंकिङमा वित्तीय सञ्चालन बलियो बनाउन, अनुपालन मापदण्ड सुधार गर्न र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरेको हो ।
बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना भएको दुईदिने कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए ।
उनले नेपालमा यस्ता कार्यक्रम आयोजना गर्नुको आवश्यकता औल्याउँदा क्षेत्रीय विषयविज्ञहरू ल्याउने एससीबीको प्रयासको सराहना गरे । साथै उनले वित्तीय अपराधविरूद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीचको समन्वयमाथि जोड दिए ।
दुई दिने कार्यक्रममा एसियान र दक्षिण एसियाका १५ देशहरूबाट आएका १३० भन्दा बढी प्रतिनिधि सहभागी थिए । गोष्ठीमा केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।
विशेषज्ञहरूले सञ्चालन गरेको कार्यशाला, समूह छलफल र केस स्टडीमार्फत बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे जानकारी गराएका थिए ।
गोष्ठीमा जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणविरूद्धका उपाय, कानुनी कारबाही, सीमापार कारोबारमा देखिने चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयलगायतका विषयहरू समावेश गरेको थियो ।
नेपालका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले गोष्ठीको उद्देश्य एन्टी मनी लन्डरिङलगायतका विषयमा जानकारी गराएका थिए ।
दुईदिने कार्यक्रममा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टिेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लयान्स सेर्हाने भिक्टर र एफसीसी एक्ट प्रमुख तथा एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए ।