काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरे खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको २ वर्षपछि पुल निर्माण सुरु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका-८ चुवामा पर्ने सुन्दरे खोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिए । उनका अनुसार विगत ३ महिनादेखि पुल निर्माण सुरु गरिएको हो । ८० मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले २ वटा स्पान बनाएर निर्माण गर्न थालिएको हो ।
पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी/प्राकृतिक जेभी काठमाडौंसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक ५ पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालसम्म पर्वत खण्डको तमादी खोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दरे खोलामा सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर मिश्रले जानकारी दिए ।
इञ्जिनियर मिश्रका अनुसार ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुलको निर्माण अवधि आगामी भदौसम्म छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ । हालसम्म पुलको एकतर्फका पिलरको काम सम्पन्न गरी अर्कातर्फको भागमा काम भइरहेको छ ।
समग्रमा अहिलेसम्म १० प्रतिशत जति प्रगति भएको छ । उक्त खोलामा पुल निर्माण नहुँदा २ वर्षअघि बाढीले बगाएर २ जनाको ज्यान गएको थियो । हिउँद याममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् ।
अत्यधिक सङ्ख्यामा र उच्च भार वहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भार वहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ । पर्वतमा अझै २ पुल निर्माणको काम बाँकी छ । मोदी गाउँपालिकाको पाती खोला र मोदी खोलामा २ वटा पुल निर्माण गरिने भएको हो ।
कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदी खोलामा ६२ मिटर र पाती खोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामो २ वटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उनले बताए । उक्त निर्माण कम्पनीले बागलुङको काठे खोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत ४४ करोड १५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडकको २ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।