काठमाडौं र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलसँग प्रतिशोध साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घामजत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ ।
उपमहासचिव पुनले सरकारले विचौलियको हितमा काम गरिरहेको छ भन्दा आफूहरुलाई सरकारबाट हट्दाको छटपटी भनियो भन्दै आक्रोश व्यक्त गरे ।
उनले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरेको उल्लेख गरे ।
पुनले भने, ‘१० महिनासम्म सरकारले दलाल र विचौलियाहरुको संरक्षण र प्रतिपक्षी दल र नेताहरुसँग प्रतिशोध साँध्नेबाहेक सरकारले केही गरेको छैन । धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । आज हामीले मात्र होइन घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर सरकारले यो सरकार विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’
सरकार गठनको १० महिनासम्म समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नगरिएको भन्दै किन गाह्रो भएको हो सरकार ? भन्दै उनले प्रश्नसमेत गरे ।