काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारले कुनै परिवर्तन हुने संकेत नरहेको स्पष्ट पार्दै त्यस्ता हल्लालाई 'मनोरञ्जनको विषय' भन्दै खण्डन गरेकी छन् ।
थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एशिया–प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औँ सम्मेलनमा नेपालको नेतृत्व गरेर शुक्रबार स्वदेश फर्केकी मन्त्री राणाले सरकार परिवर्तनबारे आएका समाचार हल्ला मात्रै भएको बताइन् ।
उनले सम्मेलनका विभिन्न सत्रमा अध्यक्षता गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाएको दाबी गरिन् ।
'मैले युनएनएसक्यापको ओपनिङ सेसन र जनरल डिबेटको अध्यक्षता गरेँ । त्यहाँ ९२ देश सहभागी थिए । यस्तो किसिमको नेतृत्वले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा अझ सकारात्मक प्रभाव पारेको छ,' मन्त्री राणाले भनिन् ।
उक्त सम्मेलनमा एलडिसी (अत्यन्त कम विकसित राष्ट्र), भू–आवेष्ठित र साना द्वीपीय विकासशील राष्ट्रहरूको विशेष सत्रमा समेत अध्यक्षता गर्दै उनले सगरमाथा संवादसम्बन्धी कुराकानी पनि गरिन् ।
सम्मेलनको साइडलाइनमाकी कार्यकारी सचिव अर्मिदास आलिस्जाभानासँग भेटघाट गर्दै मन्त्री राणाले क्षेत्रीय सहयोग, प्रविधिक सहायता र दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक सहयोगबारे छलफल गरिन् ।
एलडिसीबाट स्तरोन्नति भएपछिको व्यापार सहुलियत र रणनीति तय गर्नसम्बन्धी विषयमा पनि बैठकमा कुराकानी भएको उनले जानकारी दिइन् ।
सरकार परिवर्तनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्- 'सरकार परिवर्तन हुँदैछ भनेर आउने समाचारहरू केवल मनोरञ्जनका लागि आएका जस्तो लाग्छ । म त यस्ता समाचार पढेर छक्क पर्छु ।'
उनले स्पष्ट गरिन् कि सरकारको नेतृत्वमा कुनै परिवर्तनको संकेत छैन र आफू देशको प्रतिष्ठा अभिवृद्धिमा केन्द्रित रहेको बताइन् ।