काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा काम गर्ने जिम्मेवारी पाएको छ ।
नेपाल बीमा प्राधिकरणले सामूहिक बीमा कोष तथा खाता सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हिमालयन रिलाई दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । गत चैत ४ गते प्राधिकरणमा भएको छलफलपछि दुवै पुनर्बीमकबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्ने कोष तथा खाता हिमालयन रिलाईले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन २०८१ को दफा ५ अनुसार, प्रत्येक पुनर्बीमक कम्पनीले चार–चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाअनुसार अबको ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मेवारी दिइएको हो ।
प्राधिकरणले जीवन बीमक र अन्य पुनर्बीमकहरूलाई उक्त निर्णयअनुसार आवश्यक कार्य गर्न निर्देशन समेत दिएको छ । यस कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।