प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक नियमको उल्लङ्घन नगर्न र वातावरणप्रति संवेदनशील बन्न सबैलाई आग्रह गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले प्रकृतिको नियम भङ्ग गरेमा मानिस स्वयं जोखिममा पर्ने बताएका हुन् ।

उनले भने, 'प्रकृति नियमले चल्छ, हामी नियतले । यदि हाम्रो नियत गलत भयो भने हामीले प्रकृतिको नियम बिगार्छौं र त्यसको परिणाम हामी आफैँले भोग्नुपर्छ।'

कार्यक्रममा उनले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासबाट विपद् व्यवस्थापन र न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । 'आजको दिन विगतका पीडालाई सम्झने मात्र होइन, भविष्यमा त्यस्ता पीडाबाट जोगिन प्रतिबद्धता व्यक्त गर्ने दिन हो,' उनले भने ।

लेखकले नेपाल उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र भएको स्मरण गराउँदै विगतका विपद्बाट पाठ सिकेर संरचना बलियो बनाउनु पर्ने आवश्यकता औंल्याए । 'सरकार भनेको केवल मन्त्रीपरिषद् होइन, समग्र राज्य प्रणाली र नागरिकको साझा प्रयासबाट मात्र विपद् सामना सम्भव छ,' उनले थपे ।

कार्यक्रममा गृहमन्त्रीले बाढी, पहिरो जस्ता विपद्को पूर्वानुमान सम्भव भए पनि भूकम्पको पूर्वानुमान असम्भव रहेको बताउँदै सधैं सतर्कता अपनाउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

गृहमन्त्री लेखकले प्रकृति र पर्यावरणको संरक्षणमा सबै नागरिकको जिम्मेवारी रहेको बताउँदै संयमित र सचेत भएर प्राकृतिक विपद्सँग जुध्न आह्वान गरेका छन् ।

Share News