काठमाडौं । इस्तानबुलमा गएको ६.२ म्याग्निच्युडको भूकम्पपछि परकम्पको डरले एक लाखभन्दा बढी मानिसहरूले घर बाहिरै रात बिताएका छन् ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा मस्जिद, विद्यालय र छात्रावासमा १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको जानकारी दिए । प्रभावितहरूलाई मोबाइल खानपान एकाइ तथा पालहरू मार्फत खाना वितरण गरिएको पनि उनले बताए ।
वातावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरत कुरुमका अनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक अन्य कुनै आवासीय भवनमा क्षति भएको छैन ।
स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर भवनबाट हाम फाल्दा वा भागदौडका क्रममा घाइते भएका ६० जनाको उपचार भइरहेको जानकारी दिए । अहिलेसम्म २३६ जना घाइते भएको पुष्टि भए पनि मृत्यु भने नभएको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा बाहिर मारमारा समुन्द्रमा रहेको थियो ।