काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए ।
पार्टीका नेतामा गुट प्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ छ । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिए ।
विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उनले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उनको विचार छ ।
शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड छ । कांग्रेसको नेतृत्मा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्दै उनले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताए ।
कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिए । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।
पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताए । वर्तमान सरकार सुशासन र संविधान संशोधनकै लागि गठन भएकाले यसमा ठोस काम हुने बताए । सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायले नागरिकका विचारसँग कांग्रेसका विचार मेल खायो कि खाएन भनी विश्लेषण गर्ने समय आएको बताइन् । लोकतन्त्र दिवसका अवसरमा पार्टीले यसको सही मूल्याङ्कन गरिनुपर्नेमा उनको भनाइ छ ।
राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस बलियो बनाउन यसका हरेक सदस्यले आफू क्रियाशील रहेको तहका नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताए । सबैको कुरा सुनेर आफू निर्णय गर्न सक्ने नेतृत्वको आवश्यकता कांग्रेसमा रहेको उनको भनाइ छ ।