काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा कार्यरत शाखा अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत सातौं तहका अधिकृत गिरीले सेवाग्राहीसँग उजुरीसम्बन्धी फाइल मिलाइदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि अख्तियारले उनीविरुद्ध कारबाही अघि बढाएको हो ।
घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। मुद्दामा बिगो वापत सोही रकम माग गरिएको छ ।