काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक खरिद ऐन उल्लङ्घन गर्दै ठेक्का प्रक्रियामा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा दुबै जनाले भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाबाट सञ्चालन भएका ठेक्का नं. ०२ र ०३ को बोलपत्र आह्वान सम्बन्धी सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान विपरीत केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायको मिलेमतोमा अभिलेखमा मात्र राख्ने उद्देश्यले ‘प्रभाव दैनिक’ मा एक प्रति मात्रै सूचना प्रकाशित गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सोही झुट्टा विवरणका आधारमा केएस मल्टिपर्पोज प्रालिलाई तीन लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिइएको पुष्टि भएको छ । अख्तियारका अनुसार यादव र अन्सारीको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१०) को देहाय (ङ) बमोजिमको कसुर भएकोले उक्त बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।