काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले आफू शिक्षामन्त्री बन्ने भन्ने समाचारहरू भ्रामक रहेको स्पष्ट पारेकी छन् ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शाक्यको नाम मन्त्रीका सम्भावित दावेदारको रूपमा सार्वजनिक हुन थालेको थियो । तर, शाक्यले सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै आफूलाई यस्ता कुराको कुनै जानकारी नरहेको, त्यस्तो मन्त्रालयप्रति न रुचि रहेको न त विज्ञता नै रहेको बताएकी छन् ।
'डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । मैले प्रतिक्रिया नदिँदा पनि हुने थियो तर मेरा शुभचिन्तक र आफन्तमा भ्रम नहोस् भनेर जानकारी गराएकी हुँ,' शाक्यले भनिन् ।
उनले हालै मात्र अन्तर–व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको उल्लेख गर्दै आफूको प्राथमिकता नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने दिशामा केन्द्रित रहेको बताइन् ।
'अहिले मेरो पहिलो कर्तव्यमा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्नु हो,' उनले भनिन्, 'म राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले कानुन निर्माणमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेकी छु ।'
पूर्वराजदूतको जिम्मेवारी सम्हालिसकेको अनुभव र अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सम्मानहरू उल्लेख गर्दै उनले थप भनिन्, 'मैले आफ्नो कर्तव्य र इमान्दारीताका कारण विश्व समुदायबाट सम्मान पाएको छु । त्यसैले अहिलेको परिस्थितिमा मन्त्री बन्ने कुरा मेरो प्राथमिकतामा छैन ।'
डा. शाक्यले आफूविरुद्ध पूर्वाग्रह राखेर शिक्षा क्षेत्रको विवादमा मुछ्ने प्रयास गरिएको आशंका गर्दै यस्तो भ्रमपूर्ण प्रचारमा नलाग्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन् । 'गलत स्वार्थसहित केही सञ्चारमाध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न सबैलाई हार्दिक अनुरोध गर्दछु,' उनले स्पष्ट पारिन् ।