काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब ७ सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । ६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए । श्रेष्ठले नाम्चेको यात्रामा ६५२ विदेशी र १५१ जना नेपाली रहेका बताए ।
वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताइन् । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए ।
‘लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन्,’ उनले भने ।
खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उनको भनाइ छ ।
उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाइएको छ ।
निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ ।
उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । उनका अनुसार अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन् ।