२ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणी पोखरीमा अवस्थित पर्यटकीय स्थल ‘इन्द्रेणी पोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले २ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन् ।

परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीय स्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीय वासी हर्षित भएका थिए । त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।

यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन वृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेरबार निर्माण गरिएको छ ।

इन्द्रेणी पोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्य कोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावा हुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक-फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणी पोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो ।

पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको १ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणी पोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिए सँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय वासी निराश बनेका छन् ।

प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे । 

‘राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ  । इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन,’ उनले भने, ‘बिना अध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।’

इन्द्रेणी पोखरीबाट धार्मिक तथा पर्यटकीय स्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोल ढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीय स्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् ।

पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोग विहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए । 

‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा-चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन,’ उनले भने । 

१० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहापोखरी, टेम्के, जन्ते ढुङ्गा, तावा भञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ । 

Share News