काठमाडौं । नेपालको हवाई क्षेत्रको इतिहासमै पहिलो पटक ‘स्काईवेल पाइलट समिट २०२५’ आयोजना हुने भएको छ । विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत नेपाली पाइलटहरूलाई एउटै छानामुनि संगठित गर्दै पाइलट एसोसिएसन अफ नेपालको स्थापनापछि, आगामी शनिबार काठमाडौंको मल्ल होटलमा यो समिट हुन लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहने उक्त समिटमा नेपालका पाइलटहरूको सहभागिता रहनेछ । समिटको टाइटल स्पोन्सरको रूपमा स्काईवेल नेपालमा भर्खरै भित्रिएको, युरोपियन स्ट्यान्डर्डअनुसारको पहिलो इलेक्ट्रिक एसयूभीले साथ दिएको छ ।
टाइटल स्पोन्सर सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलटजस्तो संवेदनशील पेशासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, 'पाइलट र स्काईवेल दुवै यात्रुको सुरक्षामा उच्चतम मापदण्ड अपनाउने साझा उद्देश्यमा आधारित छन् ।'
स्काईवेल चीनमा निर्मित, ६५ भन्दा बढी देशमा निर्यात हुने, इयु-प्रमाणित इलेक्ट्रिक भेइकल हो, जसले चाइना एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले स्काईवेलको विश्वास र तत्परताप्रति आभार व्यक्त गर्दै भने, 'सुरक्षा र व्यवसायिकतामा दुई प्रतिबद्ध संस्थाबीचको यो सहकार्य नेपालको हवाई क्षेत्रमा प्रेरणादायी बन्नेछ ।'
समिटको अवसर पारेर पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ घोषणा गरिनेछ । साथै, सन् २०२५ भर आयोजना गरिने जनचेतनामूलक कार्यक्रमहरूको वार्षिक कार्यतालिका (क्यालेन्डर) समेत सार्वजनिक गरिने बताइएको छ ।