तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अप्रिल २३ देखि सुरु, यसपटक काठमाडौंमा पनि हुने

काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) यही अप्रिल २३ देखि आयोजना हुने भएको छ । बुधबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले पत्रकार सम्मेलनको आयोजना गरी मार्ट आयोजना हुनेबारे जानकारी गराएको हो । 

मार्ट नेपाल पर्यटन बोर्ड र नाट्टा दुवैले संयुक्त रूपमा मिलेर आयोजना गर्न लागेको जनाएको छ । यससम्बन्धमा बोर्ड र नाट्टाबीच गत चैत्र २२ गते सम्झौता भइसकेको छ । 

उक्त कार्यक्रममा बोर्डबाट कार्यबाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने तय भएको छ । 

आयोजकका अनुसार अघिल्लो वर्षमा बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक भने काठमाडौंमा पनि आयोजना हुने भएको हो । काठमाडौंमा अप्रिल २३ र २४ अनि लुम्बिनीमा २५ मा हुनेछ ।

कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ  । 

आयोजकका अनुसार सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । साथै मार्टमा १ हजार १ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगमी अप्रिल २३ देखि २४ गतेसम्मको लागि कार्यक्रम आयोजना हुन लागेको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । 

उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाईद केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’ 

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताउँदै त्यसको प्रचारप्रसार आवश्यक औंल्याए । 

उनले भने, नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ ।’ यसले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनले उल्लेख गरे ।

कार्यक्रम तालिका

२२ मेमा विदेशीहरू नेपालमा आइपुग्ने कार्यक्रम रहेको छ । २३ अप्रिलमा औपचारिक रूपमा मार्टको उद्घाटन कार्यक्रम रहेको छ भने उक्त दिन कन्फ्रेन्स, बिटुबी मिटिङ, र प्रदर्शनी रहेको छ । 

साँझ गाला डिनरका साथै नेटवर्किङ कार्यक्रम आयोजना हुने छ । दोस्रो दिन अर्थात २४ मे मा कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने त्यही दिन साँझ लुम्बिनी जाने  कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरु आ–आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ । 

मार्टमा सहभागी हुन चाहने सहभागीहरूले २०८२ वैशाख २८ (१० मे २०२५) भित्र अनिवार्य दर्ता गर्नु पर्ने छ । र २०८२ वैशाख १८ (३० अप्रिल २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई ‘अर्ली बर्ड’ को छुटसमेत उपलब्ध रहेको आयोजकले जनाएको छ ।

यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ ।

बीआईटीएम २०२५ को लागि प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ । 

आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पर्यटन क्षेत्र, सरकारी निकाय, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरेका छन् ।

नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

आयोजका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स÷मिडियाको सहभागिता रहेको थियो ।

Share News