काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिले काठमाडौंमा ल्याएर अवतरण गराइएको हो ।
उक्त घटनाका कारण त्रिभुवन विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द गर्नुपरेको थियो । हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा केहीबेर रोकिएको र पछि सुरक्षित रूपमा ट्याक्सी गराएर बाहिर निकालिएको जनाइएको छ ।
हाल जहाजको प्राविधिक जाँच भइरहेको विमानस्थल स्रोतले जनाएको छ । यात्रुहरू भने सकुशल रहेको बताइएको छ ।
सुरक्षालाई प्राथमिकतामा राख्दै जहाजलाई समयमै सुरक्षित अवतरण गराइएकोले ठूलो दुर्घटना टरेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।