होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

धरान । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । 

कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैं भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् । 

धरान उपमहानगरपालिका- १३ स्थित भ्यू-पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् ।

पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् भने दर्जनौं पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरूबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । ’केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गर्थ्याैं,’ कोइरालाले सुनाए ।

'कुनै समय उजाड झैं देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,’ कोइरालाले भने । 

‘लाहुरेको सहर, फेसनेबल सहर, खेलकुदको सहर’लगायत अनेक उपनामले परिचित धरान सहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरू । 

पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए ।

'सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने । अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उहाँले जानकारी पनि दिए । 

धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । 'समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ,’ श्रेष्ठले भने । 

धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । दैनिक हजारौं सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए । 

धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरू गन्तव्य बनेको छ ।

पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन् ।

'धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरु साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरुलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डेडाँडालगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ,’उनले भनिन् ।

सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरुका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरु थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरू खुलिसकेका छन् । 

धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरु धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरु खुलेपछि पर्यटकहरु आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताए ।

कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरु रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ । 

धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए ।

धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब छ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ । 

वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ । 

यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ । 

यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरूले बताए ।
 

Share News