कुटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धिको आधार पर्यटन भएको बताएकी छिन् । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उनले सो धारणा राखिन् । 

‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन्,’ उनले भनिन् । 

मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गरिन् ।

मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङखलाको पनि प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । 

इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् । 

साथै मन्त्री राणाले सहभागी कुटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गरिन् । 

‘मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस्,’ उनले भनिन् ।

कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन् । 

परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गरिन् । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुन् । 

Share News