निर्माण तथा उद्योगहरूले वायु प्रदूषण बढाउँछन्, पर्यटनले ग्रीन इकोनोमिकमा योगदान गर्छ: सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले 'ग्रीन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको 'पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर' शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदूषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।
 
उनले भने, ‘पछिल्लो वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदूषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी ब्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरूले वायु प्रदूषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रीन इकोनोमिकका लागि योगदान गरिरहेको छ ।’ 

नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताए ।

उनले थपे, ‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’

सीईओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष(अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’

Share News