नयाँ वर्षको अवसरमा चौँरी महोत्सव हुँदै, भूटानबाट समेत पर्यटक आउने

काठमाडौं । नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् ।

महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनुका साथै चौँरी जन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी दिए । 

‘विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको जगेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको छ,’ उनले भने । 

यस्तै, फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौँरीपालक किसानसहित स्थानीयबासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ । महोत्सव समुद्री सतहबाट ३ हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना हुनेछ । चैत ३१ गते सुरु हुने महोत्सव वैशाख २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगुले जानकारी दिए । 

विसं २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव गरिँदै आइएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टालगायत संस्था प्रवर्द्धकका रूपमा रहेको यस वर्षको महोत्सवमा नेपालसहित भारत र भूटानबाट समेत पर्यटक आउने आयोजकमध्येकै फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिए । महोत्सवमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकबीच मैत्रीपूर्ण फुटबल खेल, चौँरी नृत्य जस्ता कार्यक्रम हुनेछन् ।

आयोजकका अनुसार चौँरी महोत्सव पाँचथरको फालेलुङमा मात्रै हुने गरेको छ । चौँरी पालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रेसमेत पाइने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइन्छन् भने दुवै देशबाट पर्यटकको सहभागिता रहने गर्छ ।

सीमावर्ती फालोट क्षेत्रमा बर्सेनि करिब तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौँरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आवागमन वृद्धि भई नेपाली लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपांगीले बताए । 

Share News