कर्मा तेञ्जिङले महाराजगञ्जमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, ३ अर्ब ऋण

कर्मा तेञ्जिङले महाराजगञ्जमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, ३ अर्ब ऋण

काठमाडौं । हिमाल आरोहीका नामले परिचित कर्मा तेञ्जिङले काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटलको निर्माण गर्ने भएका छन् । कर्मा हस्पिटालिटी प्राइभेट लिमिटेड कम्पनीमार्फत उनले होटल निर्माणको तयारी थालेका हुन् ।

शैक्षिक, पदयात्रा तथा आरोहण जस्ता पर्यटनसम्बन्धी व्यवसायहरूमा संलग्न तेञ्जिङले ४ अर्ब २ करोड रुपैयाँ लागतमा ले मेरिडियन’ होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् ।

लक्जरी होटेल म्यानेजमेन्ट (बीभीआई)ले व्यवस्थापन गर्ने सो पाँचतारे होटलमा १७० कोठा हुने बताइएको । कम्पनीले होटल निर्माणका लागि कुल लागतको ७३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । २७ प्रतिशत स्वपूँजीमा होटल निर्माण हुनेछ । कर्मा हस्पिटालिटीको कुल चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको रेटिङमा उल्लेख छ ।

कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालमा ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले एलबी प्लस ए फोरको रेटिङ पाएको छ । रेटिङमा होटल निर्माणका लागि आंशिक जग्गामात्रै खरिद गरिसकेको जानकारी दिएको छ । निर्माणको प्रक्रिया सुरु नभए पनि होटेलको डिजाइन भने तयार भइसकेको बताइएको छ । होटलमा एउटा क्यासिनो, बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र बैंक्वेट हल हुनेछन् ।

विदेशी पर्यटकलाई मध्यनजर गर्दै यो होटलले सरकारले पर्यटन दशक घोषणा गरसँगै उत्साहित भएर निर्माण गर्ने भएको हो । उसो त महाराजगञ्जमा धेरै तारे होटल छन् । थप नयाँ होटल आउँदा प्रतिस्पर्धा बढ्दे देखिन्छ ।

होटलसँगै तेञ्जिङले अपार्टमेन्ट पनि बनाउँदैछन् । होटल र अपार्टमेन्टको कुल लागत भने ६अर्ब हुने बताइएको छ । कर्मा र उनको टीमले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने तयारी थालेका हुन् ।

सरकारले पर्यटन क्षेत्रमा निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहन गर्ने विभिन्न कदम चालेको छ । सरकारले भिजिट नेपाल दशक घोषणा गरिनुका साथै, ठूलो आकारका होटल परियोजनाहरूका लागि कर छुट दिने व्यवस्था पनि गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूले पर्यटनसम्बन्धी परियोजनाहरूलाई कर्जा प्रवाह गर्नुपर्ने सीमा तोकिँदा पनि पर्यटन व्यवसायीलाई उत्साह मिलेको छ ।

Share News