त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने, सुरक्षा र उडान क्षमतामा सुधार

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको हो । गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो । तर, अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको हो ।

गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो । तर, अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल राति १२ बजे बन्द हुने छ । यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो ।

विमानस्थल कार्यालयका अनुसार धावनमार्गसँग जोड्ने लिंक वे निर्माण कार्य सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालन गर्न सकिने अवस्था बनेको हो ।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै सुरक्षा तथा उडान क्षमतामा सुधार आएको छ । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

हालको नयाँ समय तालिका भने कात्तिक २३ अघिको भन्दा केही छोटो छ । स्तरोन्नति अघि विमानस्थल राति २:३० बजेसम्म सञ्चालनमा रहन्थ्यो भने बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो । तर, नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार अब यही समय तालिका स्थायी रूपमा कायम रहने सम्भावना छ । नयाँ सञ्चालन अवधिले हवाई यातायातको सुचारुता बढाउने विश्वास गरिएको छ ।

Share News