
काठमाडौं । साना, मझौला होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको छाता संस्था होटल व्यवसायी महासंघ नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा महासंघको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको अध्यक्षता महासंघका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष चुकेले महासंघको अवधारणासहित होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको चर्चा गरे ।
देशभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित र अधिकारको प्रत्याभूति हुनेगरी आवश्यक नीति निर्माण हुनुपर्नेमा उनले जोड दिए ।

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके ।
उनले बन्दसत्रमा भएको छलफलका क्रममा प्रतिनिधिबाट राखिएका जिज्ञासाको जवाफ दिएका थिए ।
संस्थाका संस्थापक ज्येष्ठ केन्द्रीय सदस्य गोपी सार्कीले शुभारम्भ गरेको सभामा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । यस्तै महासचिव टिआर भण्डारीले साधारणसभाको खुला तथा बन्दसत्र कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा महासंघका संरक्षक अमृतबहादुर भुजेल, सल्लाहकार केपी पाध्य, कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, सह-आयोजक संस्था जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र जिल्लागत संघको प्रतिनिधित्व गर्दै होटल व्यवसायी संघ, झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ र रुपन्देहीका नरेन्द्र खनालले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा महासचिव भण्डारीले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दिपेन सुवेदीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विंस २०६८ सालमा स्थापना भएको यस संस्थाले वैधानिकताको साथ आफ्नो विधानले निर्दिष्ठ गरेको नेपालको पर्यटन क्षेत्र, त्यसमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित संरक्षणका लागि विभिन्न निकायहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संघले जनाएको छ ।
देशैभरका ७७ वटै जिल्लामा रहेका करिब २ लाखभन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसारीहरूको छाता संस्थाले संघीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न मन्त्रालयहरू, प्रदेश सरकार एवम् पर्यटन मन्त्रालय, स्थानीय सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ।