काठमाडौं । तीन महिनाको अवरोधपछि रेसुङ्गा विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन भएको छ। नेपाल एयरलाइन्सको नियमित उडान अवरुद्ध भएपछि गत पुस ४ गतेदेखि विमानस्थल प्रयोगविहीन बनेको थियो । सोमबारदेखि पुनः उडान सुरु भएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् ।
सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना यात्रु तथा रेसुङ्गाबाट काठमाडौं जाने ४ जना यात्रुले सेवा लिएका थिए ।
नेपाल एयरलाइन्सको विमान मर्मतका कारण नियमित उडान रोकिएको थियो । यसअघि साताको एक दिन (शुक्रबार) मात्रै उडान हुँदै आएकोमा यात्रुहरूको चाप बढेसँगै साप्ताहिक तीन दिन उडानको अनुमति प्राप्त भएको थियो । वर्षायामका कारण पछिल्लो समय पुनः साप्ताहिक एक दिन मात्र उडान भैरहेको थियो ।
हाल पुनः यात्रुहरूको चापलाई ध्यानमा राख्दै हप्ताको दुई दिन सोमबार र बुधबार उडान गर्ने कार्यतालिका निर्धारण गरिएको छ।
गुल्मीबाट काठमाडौं जाने यात्रुहरूले ७ हजार ३०० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने काठमाडौंबाट गुल्मी आउने यात्रुहरूले ७ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६:३० बजे उडान हुनेछ भने रेसुङ्गाबाट काठमाडौंका लागि बिहान ७:४५ बजे उडान हुनेछ ।
रेसुङ्गा विमानस्थल पुनः सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटकहरू गुल्मीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल, र रुरुक्षेत्र घुम्न आउन थालेका छन् ।
यस सेवाले विशेष गरी वृद्ध, बिरामी, सुत्केरी तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज हवाई यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ।