
काठमाडौं । कैलालीको सिमली जंगलमा एक सयभन्दा बढी विदेशी नागरिहरू अनुमति नलिईकन अस्वाभाविक गतिविधि गरिरहेका भेटिएका छन् ।
घोडाघोडी नगरपालिका ९ स्थित चुरे छेउमै पर्ने सिमली जंगलमा एक सातादेखि १७ देशका एक सयभन्दा बढी नागरिकहरू अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा भेटिएको घोडाघोडी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार ती विदेशी नागरिकहरूसँग भिजिट भिसा रहेको पाइएको छ । ती विदेशी नागरिक प्रकृतिसँग रमाउने, एकान्तमा बस्न रुचाउने, रमाइलो गर्ने गरी जंगलमा आएका बुझिएको नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बताए ।
उनका अनुसार तिनीहरू भारत, चीन, अमेरिका, जापान, फिलिपिन्स, बेलायतलगायतका देशबाट आएका हुन् । यिनीहरू सबै व्यापारी तथा व्यवसायीहरु रहेका छन् ।
उनीहरु फागुनको दोस्रो सातातिर त्यहाँ आएका बुझिएको छ ।
उनले भने, ‘यी नागरिकहरूमा कोही बच्चा छन्, कोही युवा त कोही वृद्धवृद्धासहित कुनैले परिवारै लिएर हिडेका छन् । यिनीहरूको टोलीमा नेपाली नागरिकहरूसमेत रहेका छन् । यिनीहरू वर्षैपिच्छे यसरी नै घुमिरहने रहेछन् । सन् २०२३ देखि यिनीहरूले यस्ता खालका क्रियाकलाप गर्दै आएका रहेछन् । योभन्दा पहिले रेन्बो फेमली ग्यादरिङ नाम दिएर अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।’
विदेशी नागरिकहरू सामूहिक रूपमा जंगलमै टेन्ट लगाएर बस्ने र त्यहीँ खाने गरेको प्रमुख रावतले बताए ।
जिल्ला प्रशासन कार्यालय, कैलालीले रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको छ ।
विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने गरेको जनगुनासो आउन थालेपछि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको टोली सिमली जंगल पुगेको थियो ।
सिमली जंगलमै पुगेर ती विदेशी नागरिकहरूलाई आ-आफ्नो गन्तव्यतिर लाग्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
कुनै पनि निकायबाट जंगलमा बस्ने अनुमति नलिएका कारण उनीहरूलाई २४ घण्टाभित्र ठाउँ खाली गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।
‘सिमली जंगलमा रेन्बो फेमली ग्यादरिङ नाम दिएर बस्दै आएका विदेशी नागरिकले अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आउन थाल्यो । अनि हामी आफै त्यहाँ पुगेका थियौं । त्यहाँ बसेका सबै जनालाई २४ घण्टाभित्र आ-आफ्नो गन्तव्यतर्फ जान निर्देशन दिएका छौं। जाने तयारी गरिरहेका छन्,’ उनले भने ।
निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।