भारतीय पर्यटक आगमनमा हुन सकेन सुधार, फेब्रुअरीमा ९७ हजार विदेशी पर्यटक भित्रिए

<p>काठमाडौं । सन् २०२५ को दोस्रो महिना अर्थात फेब्रुअरीमा झण्डै ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२४ को फेबु्रअरीको तुलनामा यस वर्षका फेब्रुअरीमा पर्यटक आगमन ०.६ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको फेबु्रअरीमा ९७ हजार ४२६ पर्यटक [&hellip;]</p>

काठमाडौं । सन् २०२५ को दोस्रो महिना अर्थात फेब्रुअरीमा झण्डै ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२४ को फेबु्रअरीको तुलनामा यस वर्षका फेब्रुअरीमा पर्यटक आगमन ०.६ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको फेबु्रअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरीको तुलनामा भने विदेशी पर्यटक आगमन ५.४ प्रतिशतले घटेको पर्यटन बोर्डको भनाइ छ । बोर्डका अनुसार सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४२३ जना पर्यटक नेपाल आएका थिए ।

फेबु्रअरीमा भारतबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा २५ प्रतिशतले कमी भएको छ । गत वर्षको फेब्रुअरीमा २५ हजार ५७८ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकोमा यस वर्षको सोही महिनामा १९ हजार १८७ जना मात्रै नेपाल भ्रमणमा आएका छन् । यो वर्षको पहिलो महिना अर्थात जनवरीमा पनि भारतीय पर्यटकको आगमनमा कमी आएको थियो । गत वर्षको तुलनामा भारतीय पर्यटक १५.१ प्रतिशतले कमी थियो । यस वर्षको जनवरीमा भारतबाट २० हजार ४८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने गत वर्षको सोही महिनामा २४ हजार १३९ पर्यटकले नेपाल भ्रमणमा आएका थिए ।

फेब्रुअरीमा चीनबाट आउने पर्यटकको संख्यामासमेत कमी देखिन्छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ फेबु्रअरीको तुलनामा यस वर्षको सोही महिनामा चीनबाट आउने पर्यटकको संख्यामा ९.८ प्रतिशतले कमी आएको छ । यस वर्षको फेब्रुअरीमा ८ हजार २२३ चिनिया पर्यटक नेपाल भ्रमणमा आइपुगेका छन् । जबकि सन् २०२४ को फेबु्रअरीमा ९ हजार १८० चिनिया पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को फेब्रुअरीको तुलनामा चिनिया पर्यटकको संख्यामा ४६ प्रतिशतले कमी आएको छ । उक्त वर्षमा चीनबाट १५ हजार ३४५ चिनिया पर्यटक नेपाल आएका थिए ।

अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा थोरै वृद्धि देखिन्छ । यस वर्षको दोस्रो महिनामा १० हजार ३४८ अमेरिकन पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको सोही महिनामा ९ हजार ८९ अमेरिकन नेपाल भ्रमणमा आएका थिए । त्यस्तै थाइल्याण्डबाट फेब्रुरीमा ५ हजार ६०९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही महिनामा थाइल्याण्डबाट ४ हजार ७९९ पर्यटक नेपाल आएका थिए ।

युके(बेलायत) बाट सन् २०२५ को दोस्रो महिनामा ५ हजार ५७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन गत वर्षको दोस्रो महिनाको तुलनामा १०.६ प्रतिशतले बढी हो । गत वर्षको फेब्रुअरीमा ४ हजार ५७१ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

बंगलादेशबाट ४ हजार ८४७ विदेशी पर्यटक नेपाल आइपुगेका छन् । गत वर्षको सोही महिनामा ४ हजार ९९ भित्रिएका थिए । त्यसैगरी श्रीलंकाबाट ४ हजार ३७०, अस्ट्रेलियाबाट ३ हजार ७३७, दक्षिण कोरियाबाट २ हजार ७७९ र जापानबाट २ हजार ६४३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Share News