काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा नयाँपन र सृजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएका निकायका विज्ञहरूले बताएका छन् । काठमाडौंमा आयोजित ‘चेन्जिङ ट्रेन्ड्सः रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा सृजनात्मकता र नयाँपन जोड्न सके यो व्यवसाय फस्टाउने धारणा राखेका हुन् ।
विश्वप्रसिद्ध हङ्कङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोनले नयाँपन र सृर्जनाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुँदै आर्थिक गतिविधि चलायमान बन्ने बताए । सृजनात्मक गतिविधिले पर्यटकलाई थप आकर्षक गर्न सकिने भन्दै यसबाट रोजगारीका अवसर पनि सृजना हुने उनको धारणा छ ।
प्रोफेसर चोनले विश्वमा पर्यटन व्यवसायको शैली बढ्न थालेको भन्दै सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर प्रस्तुतिकरण दिएका थिए । विश्व पर्यटनको रुपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुआत अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे ।
पर्यटन विकासको सुरुआत विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र रूपमा विकास भएको तथ्याङ्कले देखाएको उनीद्वारा जारी प्रस्तुतिकरणमा उल्लेख गरिएको छ ।
‘पर्यटनको महत्त्वपूर्ण अङ्ग मानिने होटलको विकासमा समेत विश्वभरको होटल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएका छन्,’ प्रोफेसर चोनले प्रास्तुत गरेको विवरणमा उल्लेख छ ।
पर्यटन विकासमा एसिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । विश्वमा पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामा छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एण्ड युनिक’ भएको दाबी गरे ।
विश्वमा अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यका रूपमा विश्वभरि परिचित भइरहेको भन्दै यसलाई नयाँपन र सृजना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका पर्यटनले खेल्न सक्ने पनि चोनले उल्लेख गरे ।
उनले भोलिको भविष्य आज देखिन सक्ने भएकाले अबको आवश्यकता ‘डिजिटल ट्रान्सफर्मेसन’ हो भन्दै यसका लागि प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती बढेको व्याख्या गरे । आतिथ्यता क्षेत्रमा पछिल्लो चुनौती मानव संशाधनको अभाव भएको उल्लेख गर्दै उजले ‘वर्क लाइफ’को सन्तुलन मिलाउनु महत्त्वपूर्ण भएको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभवन उल्लेख्य भएको बताए । आन्तरिक र अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि बोर्डले सरकारी र निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।