वायुसेवा सञ्चालकले भने : युरोपेली देशसँग वार्षिक अर्बौंको कारोबार हुन्छ, हेलिकोप्टर आयात रोकियो भन्नु गलत हो

<p>काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको भन्नु गलत रहेको बताएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै हेलिकोप्टर आयात रोकियो भन्ने समाचार गलत भएको धारणा राखेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगायो भनेर विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएकोउल्लेख गर्दै [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको भन्नु गलत रहेको बताएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै हेलिकोप्टर आयात रोकियो भन्ने समाचार गलत भएको धारणा राखेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगायो भनेर विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएकोउल्लेख गर्दै संघले त्यस्तो नभएको बताएको हो ।

संघले विज्ञप्तिमा भनेको छ, ‘नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरूले ओगटेको छ, साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अर्बौं रुपैयाँ युरोपियन कम्पनीहरूसँग कारोबार भइरहेको छ ।’

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा सेफ्टी लिस्टबाट हटाउने सम्बन्धमा गहन छलफल भएकोले त्यसले साथर्कता पाउने विश्वास संघको छ ।

‘हामीले गरेको कामको उचित मूल्यांकन गर्दै युरोपियन यूनियनको हेडक्वार्टर ब्रुसेल्समा बस्ने सेफ्टी कमिटीको आगामी मिटिङले अवश्य पनि सेफ्टी लिस्टबाट हटाउँछ भन्ने नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघले पूर्ण विश्वास लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

युरोपियन युनियनले नेपाली हवाई सेवालाई सन् २०१३ देखि सेफ्टी लिस्टमा राखेपश्चात संघका सदस्य वायुसेवा कम्पनीहरूले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी स्ट्यान्डर्डले निर्दिष्ट गरेअनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि लिस्टबाट हट्न नसकेको हुँदा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरट्ठ तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुकताका साथ लागि परी नै रहेको जानकारी पनि संघले दिएको छ ।

युरोपियन यूनियनको सेफ्टी लिस्टले निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरूमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरूको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा एभिएसन प्रडक्टका लागि वैकल्पिक बजारहरूको हिस्सा विस्तार गर्ने संघले जनाएको छ ।

साथै संघले नेपाली हवाई सेवा उद्योगहरूको दीर्घकालीन स्थिरता र वृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेली उडयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भीर भई उचित कदम चाल्न अनुरोध गरिएको छ ।

Share News