गोरखा । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए। उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । ‘गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ’, प्रमुख कार्कीले भने, ‘शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।’
यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।