
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला सुरु भएको छ ।
मेलाको पहिलो दिन शुक्रबार विभिन्न रोजगार दाताहरूको स्टलमा आएर सयौं नगरवासीले रोजगारका लागि आवेदन दिएका छन् ।
नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायीक संस्था तथा रोजगारदाताहरूले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरूलाई रोजगार दिने तयारी गरिएको छ । शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ ।
विगतका मेलाहरूमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरूको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
शिक्षा, सीप र उद्यमशीलता: रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ ।
पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो ।
तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरूले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलनसमेत गरिएको थियो । माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ।
यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याइएको छ।
शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौंको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरूबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ । यसअघि सम्पन्न तीनवटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ।
मेलामा बढीभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरूलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ स्टल रहेका छन् ।
यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।