हिमाल चढ्न २१ लाखसम्म शुल्क, आरोहण खुला गरेपनि ६७ हिमालमा पुगेनन् ‘पाइला’

<p>काठमाडौं । नेपाल सरकारले थप ५७ वटा नयाँ हिमाल आरोहणको लागि खुला गरेको छ । सरकारले पर्वतारोहणसम्बन्धी नियमाली २०५९ को नियम २(क) को उपनियम (१) बमोजिम हिमालचुलीको नामावली सार्वजनिक गरेको हो । नयाँ हिमालको सूची सार्वजनिक गरेसँगै थप ५७ हिमालमा विभागले हिमाल आरोहणको लागि खुला भएको जनाएको छ । खुला गरिएका नयाँ हिमालहरू पूर्व ताप्लेजुङदेखि [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले थप ५७ वटा नयाँ हिमाल आरोहणको लागि खुला गरेको छ । सरकारले पर्वतारोहणसम्बन्धी नियमाली २०५९ को नियम २(क) को उपनियम (१) बमोजिम हिमालचुलीको नामावली सार्वजनिक गरेको हो । नयाँ हिमालको सूची सार्वजनिक गरेसँगै थप ५७ हिमालमा विभागले हिमाल आरोहणको लागि खुला भएको जनाएको छ ।

खुला गरिएका नयाँ हिमालहरू पूर्व ताप्लेजुङदेखि डोल्पा, हुम्लासम्मका छन् । खुला गरिएका नयाँ हिमाल ५ हजार ८ सय मिटरदेखि ६ हजार ८ सय मिटरसम्मको उचाइ रहेका छन् ।

हालसम्म आरोहण गर्न खुला गरिएको हिमालको संख्या ४६७ पुगेको छ । यसभन्दा अघि ४१० वटा हिमाल आरोहणका लागि खुला गरिएको थियो । नेपालमा विश्वको अग्लो हिमाल सगरमाथादेखि पहिचान भएका हिमाल दुई हजारभन्दा बढी छन् । पहिचान भइसकेका र आरोहणका लागि खुला गरिसकेका हिमालमध्ये ६८ वटा हिमालमा अहिलेसम्म मानवीय पाइला नपुगेको विभागद्वारा सार्वजनिक भएको हिमाल आरोहणको तथ्यांकले देखाउँछ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष नीमानिरु शेर्पा हिमालसम्म पुग्ने रुटको उचित व्यवस्था नहुँदा आरोहणको लागि खुला भएपनि कोही पनि व्यक्ति त्यहाँसम्म पुग्न नसकेको बताउँछन् ।

‘हिमालसम्म जाने क्यारेबन रुटको राम्रो व्यवस्था नहुँदा र हिमालको पिकको प्रोफाइल कस्तो छ भनेर स्पष्ट नभएका ६८ हिमालमा अझै कोही पुग्न सकेको छैन,’ उनले भने ।

अध्यक्ष शेर्पा आरोहणको लागि हिमालमात्रै खुला गरेर नपुग्ने बताउँछन् । त्यसका लागि सरकारले पूर्वाधारको सुविधादेखि पर्याप्त बजेट छुट्याउनुपर्ने उनको बुझाइ छ । पर्वतारोहणको लागि सरकारले बजेट नछुट्याउने गरेको उनले जानकारी दिए ।

पर्वतारोहणले आफ्नो आन्तरिक स्रोतबाटै हिमालको प्रवद्र्धनको लागि विभिन्न काम गर्दै आइरहेको अध्यक्ष शेर्पाले बताए । ‘हिमालको पहिचान गरेर मात्रै पुग्दैन, त्यस क्षेत्रको विकास र विस्तारको लागि सही सूचना तथा जानकारी, तालिम, पूर्वाधार आवश्यक हुन्छ, ती काम नेपाल सरकारले गर्नुपर्छ तर अहिलेसम्म त्यस्तो कुनै काम गरेको छैन । त्यस्तो नहुँदा यस्ता धेरै हिमालहरु जहाँ सम्भावना भएर पनि पर्यटक पुग्न सकेको छैन ।’

शेर्पाका अनुसार पर्वतारोहण क्षेत्रको विस्तारको लागि संघले आवश्यक सूचना तथा जानकारी, हिमालसम्बन्धी जनशक्ति चाहिए तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । संघले अहिले हिमालको पिक प्रोफाइल बनाउने र व्यवस्थित बनाउने काम गरिरहेको छ । हिमालको प्रमोशनका लागि अन्तर्राष्ट्रिय छाता संगठनहरुसँग समन्वय गरेर काम गर्दै आएको छ ।

त्यस्तै, संघले इन्टरनेशनल माउन्टेन म्युजिएम स्थापनासमेत गरेको छ । सँगसँगै वातावारणीयसम्बन्धी सचेतमूलक कार्यक्रम गर्दै आएको छ । पर्वतारोहण क्षेत्रको विस्तारको लागि संघ सक्षम भएपनि बजेटको अभाव हुँदा समस्या हुने गरेको उनले बताए । पर्वतारोहण संघ एक्लैले यो क्षेत्रको विकासमा चुनौती भएकाले समस्या हुने गरेको शेर्पा बताउँछन् ।

पर्वतारोहण क्षेत्रलाई प्रवद्र्धन गर्न सके ठूलो सम्भावना भएकाले सरकारले नयाँ गन्तव्य र हिमालहरु आरोहणका लागि खुला गरेर आकर्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष शेर्पाको विचार छ । यो क्षेत्रमा सरकारले लगानी गर्नुपर्नेमा उनको जोड छ ।

२१ लाखसम्म शुल्क

सरकारले सगरमाथासहित विभिन्न हिमाल चढ्दा विदेशी र नेपाली नागरिकलाई फरक–फरक शुल्क (रोयल्टी) लिने गरेको छ । त्यस्तो शुल्क भर्खरै मात्र अर्थात पुस २६ गतेको मन्त्रिपरिषदको बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौं पटक संशोधन गर्दै बढाएको छ । नयाँ शुल्क आगामी भदौदेखि लागू हुँदैछ ।

संशोधन हुनअघि सगरमाथा आरोहण गर्दा विदेशी नागरिकलाई ११ हजार अमेरिकी डलर अर्थात १५ लाख ४० हजार रुपैयाँ शुल्क लिँदै आएकोमा आगामी भदौदेखि १५ हजार डलर अर्थात २१ लाख रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।

सरकारले ऋतुअनुसार रोयल्टी लिने गरेको छ । जसअनुसार बसन्त ऋतुमा ११ हजार डलर, शरदमा ५ हजार पाँच सय, जाडो र वर्षामा २ हजार ७५० अमेरिकन डलर निर्धारण गरेको छ ।

८ हजारभन्दा माथिको अन्य हिमाल चढ्दा विदेशी नागरिकले १० हजार डलर तिर्नुपर्छ । ७ हजार ५०१ मिटरदेखि ७ हजार ९९९ मिटरसम्मको हिमाल चढ्दा ६ सय डलर, ७ हजार देखि ७५ सय मिटरसम्म पाँच सय डलर, ६ हजार ५०१ देखि ६ हजार ९९९ सम्म ४ सय डलर र ६ हजार पाँच सयभन्दा तलको हिमाल चढ्दा २५० अमेरिकी डलर शुल्क निर्धारण गरेको छ ।

नेपालीको हकमा सगरमाथा चढेनको लागि बसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार पाँच सय र जाडो र वर्षायाममा १८ हजार २५० रुपैयाँ लिँदै आएको छ । ८ हजारभन्दा माथिका हिमाल चढ्दा नेपाली नागरिकले १० हजार रुपैयाँ तिनुपर्छ । त्यस्तै, ७ हजार ५०१ मिटरदेखि ७ हजार ९९९ मिटरसम्मको हिमाल चढ्दा ८ हजार, ७ हजार देखि ७५ सय मिटरसम्म ६ हजार, ६ हजार ५०१ देखि ६ हजार ९९९ सम्म पाँच हजार, ६ हजार पाँच सयभन्दा तलको हिमाल चढ्दा चार हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

Share News