सर्वसाधारणलाई उद्यमी बनाइरहेको ‘कोशेली घर’, कीर्तिपुरवासीमा खुसीयाली

<p>काठमाडौं । कीर्तिपुरवासी निर्मला महर्जन दुई वर्षअघिसम्म स्वीटर बुन्ने काम गर्थिन् । बुन्ने मात्रै नभएर उनले ज्यालामा २०/२५ जनालाई रोजगारीसमेत दिँदै आएकी थिइन् । झण्डै २५ वर्ष यस पेशामा आवद्ध भएकी उनले स्वास्थ्यमा समस्या भएपछि स्वीटर बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । गरिरहेको सीपलाई निरन्तरता दिन नसकेपछि अरू कुनै व्यापार/व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने सोंचमा [&hellip;]</p>

काठमाडौं । कीर्तिपुरवासी निर्मला महर्जन दुई वर्षअघिसम्म स्वीटर बुन्ने काम गर्थिन् । बुन्ने मात्रै नभएर उनले ज्यालामा २०/२५ जनालाई रोजगारीसमेत दिँदै आएकी थिइन् । झण्डै २५ वर्ष यस पेशामा आवद्ध भएकी उनले स्वास्थ्यमा समस्या भएपछि स्वीटर बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । गरिरहेको सीपलाई निरन्तरता दिन नसकेपछि अरू कुनै व्यापार/व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने सोंचमा थिइन् उनी ।

खाजा पसल सुरु गर्ने कि भन्ने सोंच भएपनि ठाउँ अभाव हुँदा अन्योलमा थिइन् निर्मला । त्यसै सन्र्दभमा कीर्तिपुर नगरपालिकाले लघु उद्यमी/व्यवसायीले उत्पादन गरेको वस्तुलाई बजारीकरणमा सहज होस् भन्ने हेतुले सञ्चालन भएको कोशेली घरमा सटर खाली हुँदै छ भन्ने जानकारी पाइन् । त्यहाँ उनकै आफन्तले सञ्चालन गर्दै आएको झोलाको पसल अन्तै सर्ने भएपछि त्यही सटरमा सुरु गर्ने भन्ने निर्णय गरिन् ।

अन्ततः निर्मलाले नगरपालिकासँग समन्वय गरेर एक जना साथीसँग मिलेर खाजा पसल सुरु गरिन् । सुरुमा बारा र परौठा मात्रै सुरु गरेको खाजा पसलमा उनले विस्तारै नेवारी खाजाका परिकारदेखि सबै खाजा राख्न थालिन् । अहिले उनले सबै खालका खाजा उपलब्ध गराउँदै आएको बताइन् ।

स्कुल/कलेज नजिक भएकाले विद्यार्थीहरू त्यही खाजा खान आइपुग्छन् । उनका अनुसार नगरपालिकाका कर्मचारीहरूसमेत त्यही खाजा खाना आइपुग्छन् । ‘पसल ठीकठीकै चलिहेको छ, नगरपालिकाले पनि सहयोग गरेको छ । विभिन्न तालिम हुँदा यही खाजा अर्डर गर्नुहुन्छ, कर्मचारीहरू पनि यही खाना आउनहुन्छ । कतिपय अफिसबाट खाजा अर्डर आउँछ,’ निर्मलाले सुनाइन् ।

आफ्नो पसलको बजारीकरणको लागि नगरपालिकाबाट सहयोग पुगेको बताउँछिन् उनी । साथै नगरपालिकाले पसलको लागि सस्तो मूल्यमा सटर उपलब्ध गराउँदा त्यसबाट राहत पुगेको बताउँछिन् ।

कीर्तिपुर वडा न ४ निवासी अजित दुलालले नगरपालिकाद्वारा सञ्चालित कोशेली घरमा जुत्ता तथा चप्पलको पसल राख्दै आएका छन् । अहिले उनले आफनो पसललाई कौशल फुटवयर नाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन् । जहाँ उनले स्थानीय महिला तथा दाजुभाईले उत्पादन गरेका स्वदेशी जुत्ता तथा चप्पललाई आफ्नो पसलमा लिई बजारीकरणमा ठूलो भूमिकासमेत निभाउँदै आएका छन् ।

साढे तीन वर्षंअघि नगरपालिकाले महिलाहरूलाई जुत्ता चप्पल बनाउने तालिम दिएको थियो । तालिम लिइसकेपछि आफूले उत्पादन गरेका जुत्ता तथा चप्पल कहाँ लगेर बेच्ने अन्यौलता ती दिदीबहिनीमा भइरहेको कुरा अजितले नजिकैबाटै नियालिरहेको थिए । उनी आफै पनि नयाँ व्यवसाय केही गर्ने कि भन्ने सोंचमा थिए । त्यस्तैमा उनले नगरपालिकाले सञ्चालन गरिरहेको कोशेली घरबारे सूचना पाए । व्यवसाय पनि हुने र बजारीकरणमा सहयोग पनि पुग्ने भएपछि उनले जुत्ता चप्पलको पसल राखेको बताए ।

अजितका अनुसार सुरुमा कोशेली घरमा स्थानीय उत्पादन मात्रै राख्नुपर्ने व्यवस्था थियो । स्थानीय उत्पादनले मात्रै व्यापार नहुने भएपछि पछिल्लो समय बाहिरबाट सामान ल्याएर बेच्न थालेको उनी सुनाउँछन् । उनले पसलमा मखमलो चप्पल, स्कुल कलेजको जुत्तादेखि सबै खालका जुत्ताको व्यापार गर्दै आएका छन् । पसल राख्नको लागि बाहिर सटर महँगो हुने बताउँदै कोशेली घरमा कम शुल्कमा पाएकोमा त्यसले नवउद्यमीलाई राहत पुगेको बताउँछन् उनी ।

त्यस्तै, कोशेली घरमा नगरपालिकाबाटै हेयर कटिङको तालिम लिएर दुई जना दिदीबहिनीले हेयर शैलुन सञ्चालन गर्दै आएका छन् । उक्त शैलुनलाई नगपालिकाकले ६ महिनासम्म निःशुल्क सटर उपलब्ध गराएको छ ।

खाजा पसल, जुत्ताचप्पल, हेयर शैलुनमात्रै नभएर कोशेली घरमा अन्य व्यवसाय पनि सञ्चालनमा रहेका छन् । जहाँ अजित र निर्मलाजस्तै १२ उद्यमीले व्यवसाय सञ्चालन गर्दै आएका छन् । जहाँ आफूले उत्पादन गरेको वस्तुदेखि बाहिरबाट ल्याएर सामान बिक्री गर्दै आएका छन् ।

यसरी सुरु भयो कोशेली घर

स्थानीय उत्पादन र प्रवर्द्धनकाे लागि सरकारले जोड दिँदै आएपनि वास्तविक रूपमा स्वदेशी उत्पादनको बजारीकरणमा ठूलो समस्या छ । धेरै जना नवउद्यमीहरूले आफ्नो उत्पादनले बजार नपाउँदा निरन्तरता दिन नसकेको गुनासो गर्ने गरेका छन् । यस्ता समस्यालाई मध्यनजर गरेर आजभन्दा पाँच वर्षअघि कीर्तिपुर नगरपालिकाले लघु उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सेवाको बजारीकरणको लागि सहज वातावारण बनाउने लक्ष्यसहित कोशेली घर सुरु गरेको हो ।

‘स्थानीय उत्पादन बिकाउन सकेन भन्ने उद्यमीहरूको गुनासोलाई मध्यनजर बजारीकरणको लागि नगरपालिकाले ठाउँ उपलब्ध गराउने लक्ष्यसहित कोशेली भर सुरु भएको हो,’ नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले बताइन् ।

कोशेली घर सञ्चालनको सुरुवातमा स्थानीय उद्यमीलाई आफूले उत्पादन गरेको वस्तुको बिक्री वितरणको लागि निःशुल्क सटरको व्यवस्था गरेको थियो । तर, नगरपालिकाले जुन लक्ष्यले कोशेली घर सुरु गरेको थियो, त्यही अनुरूप चल्न सकेन । कोशेली घर अव्यस्थित हुँदै जान थाल्यो । उद्यमीहरूले मनलाग्दी सटर खोल्ने र बन्द गर्ने गर्न थालेपछि गुनासो बढ्दै जान थाल्यो । पहिलेको जनप्रनिधिले सुरु गरेको कोशेली घरको व्यवस्थापनको जिम्मेवारी नयाँ जनप्रतिनिधिको काँधमा आएसँगै त्यसलाई के गर्ने भनेर छलफलमा जुटेको नगरपालिका उपप्रमुख शाक्यले सुनाइन् ।

व्यवस्थित बनाउन शुल्क

नगरपालिकाद्वारा सञ्चालित कोशेली घर अव्यस्थित बन्दै गएपछि समस्या के रहेछ भनेर त्यहाँ व्यवसाय गर्दै आइरहेका सबै उद्यमीलाई छलफलमा बोलाएको उपप्रमुख शाक्यले बताइन् । छलफलमा सबै उद्यमीले स्थानीय उत्पादन मात्रै बेच्दा व्यापार नभएको गुनासो राखे । साथसाथै उनीहरूले स्थानीय उत्पादनसँगै बाहिरी वस्तु राखेर व्यापार गर्नुपर्ने अवस्था देखिएको सुझाव दिए ।

उद्यमीहरूमार्फत् यस प्रकारको गुनासो आएपछि नगरपालिकाले नयाँ ढंगबाट कोशेली घर सञ्चालन गर्ने निर्णयमा पुगेको उपप्रमुख शाक्यले बताइन् । शाक्यका अनुसार त्यसपछि भने नगरपालिकाले शुल्क लिएर व्यवसायीलाई सटर उपलब्ध गराएको र बाहिरी वस्तु पनि राख्न अनुमति दिएको हो ।

उनका अनुसार टेन्डर नै खुलाएर सटर दिने व्यवस्था गरेको थियो । न्यूनतम पाँच हजार शुल्क लिनेगरी नगरपालिकाले टेन्डर खुलाएको थियो । त्यतिबेला धेरै जना स्थानीय व्यवसायीले आवेदन दिएपनि १२ जनालाई छनोट गरी सटर उपलब्ध गराइएको थियो । अहिले धेरैजसो पुरानो उद्यमीहरूले सटर छाडेकोमा नयाँ उद्यमीहरूले सञ्चालन गरिरहेको छन्, केही पुरानै उद्यमीले त्यही सटरमा आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।

कोशेली घर स्थापना भएको सुरुवाती चरणबाटै संलग्न हुँदै आएकी नगरपालिकाको उद्यम विकास केन्द्रकी उद्यम विकास सहजकर्ता अप्सरा भट्टराईले तीन वर्षयता नगरपालिकाले एक उद्यमी बराबर मासिक पाँच हजार रुपैयाँ शुल्क लिँदै आएको बताउँछिन् ।

कोशेली घर सञ्चालनको सुरुवाती चरणमा स्थानीय व्यवसायीलाई निःशुल्क रूपमा व्यवसायको लागि सटर उपलब्ध गराउँदा लापरबाही बढ्न गएकोले व्यवस्थित बनाउने हिसाबले शुल्क लिन थालेको उद्यम विकास सहजकर्ता भट्टराईले थप प्रष्ट्याइन् ।

उनले भनिन्, ‘दुई वर्षजति हामीले उद्यमीलाई व्यवसाय सञ्चालनको लागि निःशुल्क सटर उपलब्ध गरायौं, निःशुल्क रूपमा चलाउन दिँदा उहाँहरूले मनपरी गर्न थाल्नुभयो । कहिले खोल्ने, कहिले १५ दिनसम्म बन्द गरिदिने । यसले कोशेली घर अव्यवस्थित देखियो । बाध्य भएर शुल्क लिने निर्णय लिनुपर्यो ।’

उद्यमीहरूलाई शुल्कसहित सटर उपलब्ध गराउँदा कोेशेली घर पहिलेभन्दा व्यवस्थित बन्दै गएको र राम्रै व्यापार भयो भन्ने प्रतिक्रिया उद्यमीमार्फत् आउने गरेको भट्टराईले बताइन् । पहिले व्यवसाय दर्ता बिना नै धेरैले व्यवसाय गर्दै आएकामा अहिले उद्यम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको उनी सुनाउँछिन् ।

‘पहिला उद्यमीहरूको पसल दर्ता गरेको थिएनन्, दर्ता नगरी काम गर्न असजिलो हुने भएकोले दर्ता गर्न क्रमशः आइरहनुभएको छ । अहिले त्यहाँ होटलदेखि रेडिमेड सामान, स्थानीय उत्पादन पनि राख्नुभएको छ । हेयर शैलुन पनि यसै सालबाट सुरु गर्दैछ,’ भट्टराईले भनिन् ।

पछिल्लो समय कोशेली घरमा सटर चाहियो भनेर निवेदन दिने नयाँ उद्यमीको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘हामीसँग अहिले १२ सटर मात्रै उपलब्ध छन्, तर, नगरपालिकामा सटर चाहियो भनेर धेरै जनाले निवदेन दिनुभएको छ । कसैले छोडिहाल्यो भने भन्नु है भन्नुहुन्छ, त्यसैले हामीले सटर बढाउने कि भनेर सोच बनाएका छौं ।’

तालिमपछि उद्यमी, त्यसपछि बजारीकरण

नगरपालिकाले नव तथा साना उद्यमीको उत्पादन भएको वस्तुको बजारीकरण मात्रै नभएर विभिन्न तालिमहरू पनि दिने गरेको अधिकारी बताउँछिन् । जुत्ता चप्पल बनाउने तालिमदेखि पार्लर, ड्राइभिङलगायत विभिन्न सीप चरणबद्ध रूपमा सिकाउँदै आएको छ । सीप सिकिसकेपछि पनि बजारीकरणमा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नगरपालिकाले कतिपय तालिम आन्तरिक स्रोतबाट र गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) मार्फत दिँदै आएको छ । नगरपालिकाद्वारा तालिम लिएर कोशेली घरमा भर्खरै सुरु भएको एक व्यवसाय हो– हेयर कटिङ शैलुन । नगरपालिकाका अनुसार दुई जना महिलाले ६ महिना तालिम लिएर यो व्यवसाय सुरु गरेको हो ।

उद्यम विकास सहजकर्ता अधिकारीका अनुसार मेड्पाले वार्षिक रूपमा यस तालिमको लागि भन्दै १२ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । योअन्र्तगत ६/७ चरणमा तालिमहरू सञ्चालन हुन्छ । केही गर्न चाहने स्थानीय नागरिकले नगरपालिकाद्वारा सञ्चालित तालिममा सहभागी हुन सक्छन् । नगरपालिकामा आवेदन परेकाहरूमध्ये छनोटमा परेका ५० जनाले तालिम लिन पाउँछन् । तालिम दिइसकेपछि पनि सम्भव भएसम्म प्रविधिसमेत हस्तान्तरण गर्ने गरेको अधिकारी बताउँछिन् ।

थप व्यवस्थित बनाइँदै

नगरपालिकाले कीर्तिपुर हाल नयाँ बजार चोकमा कोशेली घर सञ्चालन गर्दै आइरहेको छ । अहिले सञ्चालन भइरहेको ठाउँ उपयुक्त नभएको हुँदा लक्ष्यअनुरूप कोशेली घर सञ्चालन नभएको हुँदा यसलाई अझै व्यवस्थित बनाउने योजना रहेको उपप्रमुख शाक्य सुनाउँछिन् ।

‘अहिलेको ठाउँ व्यापारिक हिसाबले उद्यमीहरूलाई ठीकठीकै छ । स्थानीय उत्पादनले मात्रै व्यापार नभएपछि उहाँहरूले बाहिरबाट सामान ल्याएर पनि बेच्नुभएको छ, यसले राम्रै गरिरहनुभएको छ । हाम्रो उद्देश्य स्थानीय उत्पानलाई जोड हो । तर, त्योअनुसार हुन सकेको छैन,’ उनले भनिन् ।

कोशेली घरलाई थप व्यवस्थित बनाउन नगरपालिकाले सञ्चालन गरेको पर्यटन सूचना केन्द्रमा सार्ने योजना बनाएको उनले सुनाइन् । ‘अहिले हामीले कोशेली घर नजिकै पर्यटन सूचना केन्द्र बनाएका छौं । त्यसको तल्लो तलामा कोशेली घरलाई सार्ने कि भन्ने योजना बनाएका छौं,’ उनले बताइन् ।

पर्यटन सूचना केन्द्रमा सबै उद्यमी व्यवसायीले उत्पादन गरेको वस्तु राख्नुभन्दा उनीहरूको नम्बर र वस्तुबारे जानकारी दिने गरी व्यवस्थित बनाउन लागेको उपप्रमुख शाक्य बताउँछिन् । त्यसका लागि केन्द्रकै कर्मचारीले सहजीकरणको भूमिका खेल्नेछन् ।

Share News