
काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा थप ट्राफिक लाइट जडान हुने भएको छ ।
आइतबार महानगरद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्को वर्ष नगरभित्रका विभिन्न रुटमा ट्राफिक लाइट जडान गरिने बताएका हुन् ।
प्रमुख महर्जनका अनुसार आउँदो वर्ष पुल्चोकबाट मंगलबार हुँदै ग्वार्कोसम्म, जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलखेलबाट एकान्तकुना, भैंसीपाटी हुँदै बुंगतीसम्म ट्राफिक लाइट जडान हुने भएको छ ।
महानगर प्रमुख महर्जनले ट्राफिक लाइट व्यवस्थापनलाई प्राथामिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सिटी बनाउने भनेर हामी लागिपरेको छौं तर कसरी ? एकैचोटि महानगरलाई स्मार्ट सिटी बनाउन सकिँदैन । त्यसको लागि समय लाग्छ । हामीले त्यसअनुसार प्राथामिकताका साथ काम गरिरहेका छौं ।’
हाल सञ्चालनमा रहेका ट्राफिक लाइट राम्रोसँग चलिरहेको उल्लेख गर्दै प्रमुख महनर्जले आगामी दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । महानगरले केही समयअघि मात्रै नेपालमै पहिलोपटक एआई ट्राफिक लाइटको सुरुवात गरिसकेको छ । यसकाे सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण काम भएको महनर्जले उल्लेख गरे ।
उनले सडकमा जडान गरिएका ट्राफिक लाइट सबैको लागि समान भएकाले एउटै सिस्टम हुनुपर्ने बताए । उनले बेलाबेला भिआइपी व्यक्तिको आगमन हुँदा लाइटको सिस्टम घढबढ हुने गरेको बताउँदै यो सिस्टममा एकरूपता हुनुपर्नेमा जाेड दिए ।
‘कहिलेकाहीं भिभीआइपी मुभमेन्ट हुँदा यसमा लाइट एडजस्ट भइरहेको हुन्छ । ट्राफिक लाइटको समय घटिरहेको हुन्छ । भिआइपीको लागि भन्नदै सिस्टम बिगारेर हुँदैन, यो सबैको लागि समान हुनुपर्छ,’ उनले भने ।
सडक दुर्घटनाबाट अकालमा धेरै मान्छेको मृत्यु भइरहेको हुँदा त्यसको न्यूनीकरणको लागि आकाशे पुल निर्माणमा पनि महानगरले जोड दिँदै आएको प्रमुख महर्जनले बताए । उनका अनुसार कुसुन्तीमा अपांगता भएकाहरूलाई समेत मध्यनजर गरी पुल निर्माण हुँदैछ ।
त्यसैगरी, धोबिघाटमा पनि आकाशेमैत्री पुलको निर्माण हुँदैछ । पाटन अस्पताल नजिक पनि दुर्घटनायुक्त क्षेत्र भएकाले त्यहाँ पनि आकाशे पुल निर्माणको लागि सबै सरोकारवालासँग छलफल र सहमित पनि भइसकेको प्रमुख महर्जनको भनाइ छ । त्यहाँ पनि पुल निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएकाे छ ।
महानगरले आजबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको सुरुवात गरेकाे छ । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पनि सहभागी गराइएको महनगरले जनाएको छ ।