सम्पदा पुनःनिर्माणमा काठमाडौं महानगर, कहाँ-कहाँ हुँदैछ काम ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले विगतदेखि नै महानगरलाई खुला संङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइराख्न नगरभित्रका मन्दिर, सत्तल, बहाल, विहार, गुठी, ढुंगेधारा तथा पोखरीजस्ता सम्पदाहरूको पुनःनिर्माण, संरक्षण र सम्वद्र्धनमा जुट्दै आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत यस्ता सम्पदाहरूको निर्माण र संरक्षण प्राथमिकताका साथ अगाडि बढाइएको छ । जसअन्र्तगत यस [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले विगतदेखि नै महानगरलाई खुला संङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइराख्न नगरभित्रका मन्दिर, सत्तल, बहाल, विहार, गुठी, ढुंगेधारा तथा पोखरीजस्ता सम्पदाहरूको पुनःनिर्माण, संरक्षण र सम्वद्र्धनमा जुट्दै आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत यस्ता सम्पदाहरूको निर्माण र संरक्षण प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

जसअन्र्तगत यस वर्ष पनि महानगरले महानगरभित्रका विभिन्न स्थानमा रहेका सम्पदाहरुको पुर्ननिर्माण, संरक्षण, सम्वद्र्धन र सरसफाइ गर्ने योजना राखेको छ । त्यसअन्र्तगत नै अहिले विभिन्न ठाउँमा पुनःनिर्माणका कार्यक्रम सञ्चालन भइरहेको महानगरले जनाएको छ ।

महानगरका सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईका अनुसार यो चालु आवमा ठेक्का प्रक्रियामार्फत झण्डै ५० वटा साना तथा ठूला प्रोजेक्टका सम्पदाहरूको पुनःनिर्माण हुँदैछ । त्यसमा मन्दिर, बहाल, सत्तलह रहेका छन् । ठेक्का प्रक्रियाबाहेक उपभोक्तामार्फत ३० वटा मन्दिर तथा सत्तलहरु पुनःनिर्माणको क्रममा रहेको प्रमुख राइले बताइन् ।

त्यसैगरी, चालु आवमा ४०/४५ ठाउँको ढंगेधाराहरु पुनःनिर्माण भइरहेको छ । राईका अनुसार श्रमबैंकबाट दैनिक हाजिरीमा कामदार राखेर प्रत्येक वडामा भएका ढुंगेधारा सफा गर्ने कार्यक्रम भइरहेको छ ।

सरसफाइ कार्यक्रमका लागि एक जना सुभरभाइजर र १० जना कर्मचारी खटिएका छन् । सरसफाइमा जोड दिन थालेसँगै पुराना ढुंगेधाराहरुको मुहार नै बद्लिएको राइले बताइन् । ढुंगेधारा, हिटी, पोखराबाहेक मन्दिरहरुको सरसफाइ र मर्मतसम्भारमा जोड दिइएको छ । यसका लागि अहिले मन्दिरहरुको खोजीकार्य पनि भइरहेको राईको भनाइ छ ।

पुनःनिर्माण हुँदै गरेका मुख्य सम्पदा

काठमाडौं महानगरले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर निर्माण–पुनःनिर्माणलाई अघि बढाइरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे र जीर्ण भएका सम्पदाहरुलाई पुनः निर्माण गर्ने, मर्मतसम्भार, सरससफाइ गर्ने काममा निरन्तर खट्दै आएकोमा यो चालु आवमा पनि निरन्तरता दिएको छ । मल्लकालमा बनेका ठूला तथा साना मठ, मन्दिरहरु भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको महानगरले जनाएको छ ।

भद्रकाली मन्दिर

महानगरले ०७२ सालको भूकम्पले जीर्ण बनाएको ११ वडामा पर्ने भद्रकाली मन्दिर परिसरको सत्तलको पुनःनिर्माण गर्दैछ । महानगरका सम्पदा विभाग राईले महत्वपूर्ण शक्तिशाली पीठ भद्रकाली मन्दिरले बहुपक्ष सम्बन्धलाई स्थापित गर्ने भएकाले यसको संस्कृतिलाई बचाइराख्नुपर्ने बताइन् ।

उक्त मन्दिरको पुनःनिर्माण असार अन्तिम साताबाट सुरु भएको हो । बीचमा केही विवाद सिर्जना भएर काम रोकिएपनि अहिले धमाधाम भइरहेको महानगरले जनाएको छ । यसको पुनःनिर्माण नेवारी शैलीमा हुँदैछ ।

विभागका प्रमुख राईका अनुसार तुलसी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा लिएको छ । उक्त निर्माण कम्पनीले ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आगामी तीन वर्षभित्र पुनःनिर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौता छ ।

महाकाल भैरव

टुँडिखेलको पश्चिमतर्फ रहेको मल्लकालीन समयमा निर्माण गरिएको महाकाल भैरव मन्दिर परिसरको सत्तल पुनःनिर्माण हुँदैछ । यो मन्दिर परिसरमा पनि सत्तलहरुको पुनःनिर्माण भइरहेको छ । यो मन्दिर परिसरको सत्तल पुनःनिर्माणको लागि १० करोड ५ लाख रुपैयाँ रुपैयाँ बराबरको सम्झौता भएको छ । पुनःनिर्माणको ठेक्का विनायक एसपी बोहरा जेभी निर्माण कम्पनीले पाएको हो । यो मन्दिरको पुनःनिर्माण २०८३ असारसम्ममा सकाउनुपर्ने सम्झौता भएको महानगरले जनाएको छ ।

भवानी  शंकर मन्दिर

वडा न २५ स्थित केलटोलमा अवस्थित भवानी शंकर मन्दिरको पुनःनिर्माण भइरहेको महानगरले जनाएको छ । पुनःनिर्माणको लागि सिएल एटु जेड निर्माण कम्पनीले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीसँग ६ करोड रुपैयाँमा सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख राईले बताइन् । भर्खर काम सुरु भएको उक्त मन्दिरको पुनःनिर्माण आगामी २ वर्षभित्र अर्थात २०८२ को अन्त्यतिर सकाउनुपर्ने ठेक्का सम्झौता छ ।

इखा पोखरी

वडा न १७ मा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण हुँदैछ । कन्या मन्दिरभित्र पुनःनिर्माण हुन लागेको उक्त पोखरीको लागत ४ करोड रुपैयाँ रहेको छ । ऐतिहासिक महत्व बोकेको उक्त पोखरी हाल सुकेको अवस्थामा छ । यो पोखरीले करिब ७ रोपनी जग्गा ओगटेको छ । यो पोखरीले ओगटेको जग्गा अतिक्रमणमा पर्दै आइरहेको थियो । पोखरीको पुनःनिर्माण हुने भएपछि यसले नयाँ जीवन पाउने भएको महानगरले जनाएको छ ।

रणमुक्तिश्वर मन्दिर

काठमाडौं महानगरले खिचापोखरीमा अवस्थित रणमुक्श्विर मन्दिरको पुनःनिर्माण प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसभन्दा अघि पनि पुनःनिर्माण गर्ने भनिएपनि विभिन्न कारणहरुले उक्त मन्दिरको पुनःनिर्माण हुन सकेको थिएन । महानगरका अनुसार यो पटक भने रणमुक्तिश्वर मन्दिरको पुनःनिर्माण हुने जनाएको छ । यसका लागि टेन्डरसमेत आह्वान भइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । उनका अनुसार यो मन्दिरको पुनःनिर्माणका लागि ९ करोड लागत लाग्ने अनुमान गरेको छ ।

इट्टा चप्पा

त्यसैगरी, काठमाडौं महानगर असनमा इट्टा चप्पा सतल पुनःनिर्माण हुँदैछ । यो मन्दिरको पुनःनिर्माणका लागि २ करोड ८४ लाख लागत रहेको महानगरले जनाएको छ । मन्दिर पुनःनिर्माणको ठेक्का शुभश्री कन्सक्ट्रक्सनले पाएको छ । महानगरका अनुसार उक्त मन्दिरको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

यीबाहेक स-साना योजनाहरु पनि प्रत्येक वडाहरूमा कम्तीमा तीन÷चार वटा मन्दिर, गुम्बा, सत्तलहरुको पुनःनिर्माण भइरहेको छ सम्पदा विभाग प्रमुख कुमारी राईले बताइन् ।

बस स्टप फल्चाको पुनःनिर्माण

काठमाडौं महानगरले मन्दिर, गुम्बा, सत्तलजस्ता सम्पदाको पुनःनिर्माणमात्रै नभएर बस विसौनीमा ‘फल्चा’ निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ । महानगर प्रमुख बालेन्द्र शाहले चुनावी घोषणापत्रमा समेत ‘बस बिसौनीमा परम्परागत शैलमा फल्चा निर्माण गर्ने’ भनेर उल्लेख गरेका थिए ।

चुनाव जितेपछि अर्थात आव ०७९/८० को पहिलो नीति तथा कार्यक्रममार्फत उनले महानगरभित्रका बस स्टपहरूमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहन गर्ने विषय समेटिएको थियो । त्यसैअनुरुप अहिले महानगरले फल्चा निर्माण–पुननिर्माण कार्यलाई अघि बढाएको छ।सम्पदा विभाग प्रमुख राईका अनुसार उपभोक्ता समितिमार्फत २ वटा फल्चा निर्माण सम्पन्न भइसकेको छ ।

बिजुली बजार पुल नजिकै र बबरमहल औषधी विभागनजिक अगाडि फल्चा निर्माण भइसकेको हो । उनले महानगरभित्रका मूख्य सडकका बस स्टपहरुमा झण्डै २२ वटा फल्चाहरु निर्माण हुने क्रममा रहेको बताइन् । फल्चाहरु निर्माणको ठेक्का आरआर कन्सक्ट्रक्सनले पाएको छ । थप १२ ठाउँमा पनि फल्चा निर्माणको लागि टेन्डर खुलाइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् ।

महानगरले गरेको अध्ययनअनुसार महानगरभित्र २६४ भन्दा बढी स्थानमा बस बिसौनीहरू रहेका छन् । महानगरले व्यवहारिक रुपमा आवश्यकता भएको ठाउँको पहिचान गरेर फल्चा निर्माण गर्दै जाने योजना रहेको छ । फल्चाहरू परम्परागत शैलीमा नै निर्माण हुनेछन् ।

Share News