
काठमाडौं । भक्तपुर वंशगोपाल चोक निवासी मुकुन्दलाल प्रधानांग आफ्नो मल्कालीन घर पुरानो भएकाले त्यसलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउने योजनामा थिए । पछिल्लो पुस्ताले जे जसरी घर बनाएपनि आफ्नो पुस्तामा भने परम्परागत घरलाई नै निरन्तरता दिने उनको सोच थियो । मर्मत गर्दा थुप्रै खर्च लाग्ने भएकाले श्रीमतीको सल्लाहअनुसार नयाँ घर नै बनाउने निर्णयमा पुगेका थिए उनी ।
भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर बनाउनेलाई ३५ प्रतिशत अनुदान दिन्छ भन्ने कुरा प्रधानांगले सुनेका थिए । यसले उनलाई आफ्नो घर बनाउन राहत मिल्ने विश्वासका साथ नगरपालिकामा निवेदन दिए । निवेदन दिएपश्चात त्यहाँका कर्मचारीले जग्गा पास भए/ नभएकोदेखि लिएर घर बनाउने स्थानको अवलोकन गर्न पुगे ।
कर्मचारीले अनुदान मिल्छ, घर बनाउनूस् भन्ने विश्वास दिलाएपछि मुकुन्दलाल घर बनाउनतिर लागे । आफूले पुरानो घरमा प्रयोग गरिएका झ्याल ढोका, झिंगटीजस्ता सामग्रीलाई नयाँ घरमा पुनः प्रयोगमा ल्याए ।
नगरपालिकाले भनेको मापदण्डअनुसार नै प्रधानांगले घर बनाए । घर निर्माण सम्पन्नपछि अनुदानको लागि उनी पुनः नगरपालिका पुगे । घर निर्माणको केही समयपछि मात्रै उनले अनुदान पाए । नगरपालिकाबाट प्राप्त अनुदान पर्याप्त नभएपनि त्यसले घर बनाउँदा लागेको कर्जा तिर्न थपथाप भएको उनले बताए ।
भोलाछे निवासी नारायणकृष्ण त्यातको पनि पुरानो घर भूकम्पले जीर्ण बनाएपछि नयाँ बनाउने सोचमा थिए । नयाँ घर परम्परागत शैलीमा नै बनाउने उनको विचार थियो । उनले पनि नगरपालिकाबाट मौलिक शैलीमा घर बनाउनेलाई अनुदान दिन्छ भन्ने कुरा अरूबाटै सुनेका थिए । नगरपालिकाबाट थोरै भएपनि राहत पाउने भएपछि उनले त्यसैअनुरूप घर बनाएको सुनाए । नगरपालिकाले भनेको मापदण्डअनुसार घर बनाउँदा ३५ प्रतिशत नै अनुदान नपाए पनि केही कम गरेर रकम पाएको बताउँछन् त्यात ।
उनले भने, ‘मापदण्डअनुसार अगाडिको मोहडाको लागि ८ लाख खर्च भएको थियो । तर, एक लाख ६० हजार रुपैयाँ पाएँ । थोरै भएपनि यसले राहत मिल्यो ।
‘पहिले पुरानो घर भूकम्पले जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो । परम्परागत नै थियो । अनुदान पनि आउने भएकाले सजिलो होला कि भनेर त्यसैअनुरूप बनाएको हो । एक लाख ६० हजार पाएँ । यसले थोरै भएपनि राहत भयो । खर्च ८ लाख भएको थियो । अपेक्षाअनुसारको अनुदान आएन । घर बनेको पाँच वर्ष भयो । गत वर्षमात्र अनुदान पाएँ,’ त्यातले थपे ।
उनले आजभन्दा पाँच वर्षअघि घर निर्माण सम्पन्न गरेपनि गत वर्षमात्रै अनुदान प्राप्त गरेको हो ।
त्यस्तै, भक्तपुर महालक्ष्मीस्थान निवासी केशव शिल्पकारको पनि माटोले बनाएको पुरानो घर जीर्ण भएपछि नयाँ घर बनाउने सोचमा थिए । उनले नयाँ घर बनाउँदा आधुनिक प्रकारको सामग्री प्रयोग गरेर बनाएपनि अगाडिको मोहडा भने नगरपालिकाको मापदण्डअनुसार बनाए । नगरपालिकाबाट प्राप्त गरेको अनुदानले आफू सन्तुष्ट नै भएको उनले सुनाए ।
माथि प्रस्तुत प्रसंग केही प्रतिनिधि पात्रहरू मात्रै हुन् । मुकुन्दलाल, नारायणकृष्ण र केशवजस्तै नगरभित्र मौलिक शैलीमा घर बनाउने धेरै जना घरधनीहरू लाभान्वित भएका छन् । भक्तपुर नगरपालिकाबाट हालसम्म ७२ जना घरधनीले मौलिक शैलीमा घर बनाएर अनुदान प्राप्त गरेका छन् ।
आर्थिक वर्ष ०७४/७५ देखि ०८०/८१ सम्ममा परम्परागत शैलीमा घर बनाउने ७२ जना घर धनीलाई अनुदान वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार आव पाँच आवमा ९८ वटा घरधनीको निवेदन परेकोमा ७२ जनाले मात्रै अनुदान पाएका हुन् । नगरपालिकाले हालसम्म यस कार्यक्रमका लागि अनुदानस्वरूप एक करोड ९८ लाख ७१ हजार चार सय रुपैयाँ खर्च गरेको छ ।
नगरपालिकाभित्र मौलिक घर बनाउने घरधनीले अधिकतम ८ लाख ७० हजारसम्म अनुदान प्राप्त गरेका छन् भने न्यूनतम ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यो कार्यविधि संशोधन हुनुअघिको तथ्यांक हो ।
कार्यक्रमको उद्देश्य
सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय नगर भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले २०५० सालदेखि पर्यटन शुल्क संकलन गर्ने कामको सुरुवात भयो । यससँगै नगरभित्रको सार्वजनिक सम्पदाको संरक्षण गर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरभित्रको परम्परागत र मौलिक स्वरूप कायम राख्नको लागि सार्वजनिक सम्पदा संरक्षण मात्रै पर्याप्त नहुने महसुस गरेर नेवारी संस्कृतिको निजी घरको वास्तु पर्यटकको लागि आकर्षण हुने र बाह्य रूपमा ऐतिहासिक स्वरूपलाई देखाइराख्न परम्परागत रूपमा निजी घर निर्माण गर्न/गराउन देखिएको हुँदा यो कार्यक्रम सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवाल बताउँछन् ।
सूचना अधिकारी सुवालले परम्परागत स्वरूपमा र नगरपालिकाको नक्सा नियमअनुसार घर बनाउने घरधनीलाई प्रोत्साहनस्वरूप अनुदान दिने नीति लामो समयदेखि नगरपालिकाले यसलाई अभ्यास गर्दै आएको सुनाए ।
उनले भने, ‘परम्परागत शैलीका घरलाई जोगाइराख्न हामीले यो कार्यक्रमलाई अगाडि बढायौं, अहिले पनि निरन्तरता दिइरहेका छौं । नगरका मुख्य-मुख्य पर्यटकीय स्थलहरू र मुख्य बजार मार्गमा परम्परागत स्वरूपमा घर निर्माण हुँदा अहिले पनि भक्तपुर नगर पुराना मल्कालीन शैलीको नगर जस्तै देखिन्छ।’
प्रवक्ता सुवालका अनुसार नगरपालिकाले मौलिक शैली झल्किने घरधनीलाई इट्टा, काठ र छाउने झिंगटी आदिमा लाग्ने मूल्यको ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको छ । नगरपालिकाले वार्षिक ८ देखि २० जनालाई यस प्रकारको अनुदान वितरण गर्दै आएको छ ।
यो कार्यक्रम पहिलेबाटै सञ्चालनमा आएपनि २०७५ सालमा कार्यविधि आएपछि आधिकारिक रूपमा सुरु भएको हो । यो कार्यक्रम लागू भएयता नगरपालिकाभित्रका एक हजार ८५ घरको नक्सा पास भएको छ ।
कार्यविधिअनुसार नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डअनुसार विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीको घर निर्माण गर्ने नगरबासीलाई काठ, इँट्टा र झिंगटी खरिदका लागि नगरपालिकाले अनुदान दिने व्यवस्था गरेको छ ।
कार्यविधि बनेपछि सबै जनाले अनुदान पाउँछ भन्ने बुझाइ देखिएकाले नगरभित्र २०७४ सालअघि घर बनाइसकेका घरधनीले पनि अनुदानको लागि निवेदन दिन आउन थाले । यसले धेरैलाई अन्याैलता सिर्जना भएपछि कार्यविधि संशोधन गरेको प्रवक्ता सुवालले बताए । यसका साथै कार्यविधिको दोस्रो शंसोधनमा ३५ प्रतिशत अनुदानलाई थप स्पष्ट पारेको छ ।
भक्तपुर नगरपालिकाको काठ, इट्टा र झिंगटी खरिद अनुदानसम्बन्धी कार्यविधि २०७५ को बुँदा १.५.१ मा रहेको ‘भवन निर्माणको लागि मोहोडातर्फ लाग्ने दाचि अप्पा, बुट्टा आप्पा र झ्याल ढोकाको लागि लाग्ने काठ बरण्डातर्फ लाग्ने काठ, छाना र पाखाको लागि लाग्ने झिंगटी भक्तपुर नगरपालिकाको न्यूनतम दररेटअनुसार कार्यमूल्यांकन गरी सोको ३५ प्रतिशत अनुदान सहयोग दिइनेछ’ भन्ने वाक्यांशलाई भवन निर्माणको लाथि मोहोडातर्फ लाग्ने दाचि अप्पा, बुट्टा आप्पा र झ्याल ढोकाको लागि लाग्ने काठ बरण्डातर्फ लाग्ने काठ, छाना र पाखाको लागि लाग्ने झिंगटी भक्तपुर नगरपालिकाको न्युनतम दररेटअनुसार कार्यमूल्यांकन गरी सो को ३५ प्रतिशत वा तीन लाखमध्ये जुन घटी हुन्छ सो बराबरको रकम अनुदान सहयोग दिइने छ भनेर संशोधन गरेको छ ।