
काठमाडौं । बैतडी र डडेल्धुरा जोड्न सुर्नया नदीमा मोटरेबल पुल बन्ने भएको छ । बैतडीको कोल्तडी र डडेल्धुराको राडिल जोड्नका लागि उक्त नदीमाथि मोटरेबल पुल बन्न लागेको बैतडीको शिवनाथ गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष कर्ण साउँदका अनुसार सहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढाइनेछ ।
अध्यक्ष साउँदले बहुवर्षीय ठेक्काअन्तर्गत पुल निर्माणका लागि २८ करोड ४८ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
जुन २०८४ सालसम्म उक्त पुल बनाइ सक्ने लक्ष्यसहित बजेट विनियोजन भएको जानकारी दिए ।
उनले भने, ‘गत पुस महिनाको २९ गते सहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएका थियो । उक्त सहमति भएको फाइल हाम्रो पालिकामा पुगेको छ । अब ठेक्कामार्फत पुलको निर्माण कार्य अगाडि बढाइनेछ । ’
यो पुल सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले बनाउने सहमति भएको अध्यक्ष साउँदले बताए ।
हाल दुबै जिल्लाबाट उक्त नदी किनारसम्म सडक पुगिसकेको उनको भनाइ छ ।
सुर्नया नदीमा उक्त पुल निर्माण भएमा बैतडी र डडेल्धुरा दुबै जिल्लाका नागरिकलाई सहज हुनेछ ।
कोल्तडी-राडिल मोटरेबल पुल निर्माण भएमा बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक लाभान्वित हुने बताइएको छ।
त्यस्तै, डडेल्धुराको भागेश्वरलगायत अन्य क्षेत्रका नागरिक पनि उक्त पुलबाट लाभान्वित हुने जनाइएको छ ।