देशभर १ लाख ४२ हजार होटल तथा रेष्टुरेन्ट सञ्चालन, ३ लाख ८७ हजार व्यक्ति आवद्ध

<p>काठमाडौं । देशभर १ लाख ४२ हजार २३३ आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरू अर्थात होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेकोे ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार उक्त संख्या बराबर देशभर होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेको पाइएको हो । सर्वेक्षणअनुसार होटल तथा रेष्टुरेन्टमा तीन लाख ८७ हजार [&hellip;]</p>

काठमाडौं । देशभर १ लाख ४२ हजार २३३ आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरू अर्थात होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेकोे ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार उक्त संख्या बराबर देशभर होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेको पाइएको हो ।

सर्वेक्षणअनुसार होटल तथा रेष्टुरेन्टमा तीन लाख ८७ हजार ७४७ व्यक्ति संलग्न छन् । तथ्यांक कार्यालयले आतिथ्यता उद्योगमा सक्रिय रहेका व्यवसायी तथा साझेदारहरू, वेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई यो क्षेत्रमा संलग्न जनशक्तिका रूपमा विश्लेषण गरेको छ ।

एक लाख ६ हजार ४५९ यो क्षेत्रमा काम गर्ने तलबी कर्मचारी रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

सर्वेक्षणअनुसार सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूले तलबी कर्मचारीहरूको लागि वार्षिक २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी, सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमध्ये आर्थिक वर्ष २०७९/८० अनुसार २८ दशमलव ४ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ । बाँकी ७१.६ प्रतिशत होटल तथा रेष्टुरेन्टले ऋण नलिई सेवा प्रवाह गरिरहेको देखिन्छ ।

तथ्यांक कार्यालय यस अघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ सर्वेक्षण गरिएको थियो । कार्यालयले त्यसको २० वर्षपछि ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सर्वेक्षण गरेको हो । अहिलेको सर्वेक्षणमा तथ्यांक कार्यालयले सर्वेक्षणको दायरा फराकिलो पारेको जनाएको छ ।

‘होटल तथा लज सर्वेक्षण- २०६०’ मा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठानहरु तारे होटल, रिसोर्ट, र गैरतारे होटलहरू मात्र सर्वेक्षणको दायरामा परेका थिए भने यस ‘राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण- २०८०’ मा सर्वेक्षणको दायरालाई फराकिलो पारिएको छ ।

यस सर्वेक्षणको दायरामा नेपालस्तरीय औद्योगिक वर्गीकरणको खण्ड ‘आई’ अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने र भोजनसेवा उपलब्ध गराउने सबै प्रकारका प्रतिष्ठानहरूलाई समेटिएको छ ।

आवास सेवा प्रदान गर्ने तारेहोटल, गैरतारे होटल, रिसोर्ट, लज, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास/होस्टेल र भोजन सेवा प्रदान गर्ने सबै प्रकारका रेष्टुरेण्ट तथा क्याटरिङ/पार्टी प्यालेसहरू सर्वेक्षणको दायराभित्र परेका छन् ।

Share News