काठमाडौं । बैंकहरू पुँजी कोषको सकसमा परेको लामो समय भयो । अझैं पनि यो समस्या समाधान हुन सकेको छैन । पछिल्लो एक वर्षमा बैंकहरुले सबैभन्दा बढी समस्या प्राथमिक पुँजी कोषमै बेहोरिरहेका छन् ।
अहिले पनि अधिकांश बैंकको समस्या यही छ । बैंकहरु प्राथमिक पुँजी कोष अनुपातकै कारण व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विशेषगरि अहिले कुमारी र एनआईसी एसिया बैंक पुँजी कोषको ठूलो दबाबमा छन् ।
नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुमारी बैंकको पुँजी कोष ८.५६ प्रतिशत र एनआइसी एशियाको ८.४४ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात छ । गत चैतको तुलनामा असारमा बैंकको पुँजी कोषमा सुधार भए पनि समस्या भने सुधार हुन सकेको छैन ।
बैंकरूको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी पुँजी कोष स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । स्ट्याण्डर्ड चार्टर्डको प्राथमिक पुँजी कोष १४.३६ प्रतिशत छ ।
क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा तोकेअनुसार बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी अनुपात र ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्छ । तर, अहिले अधिकांश बैंकको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकले यसमा पुनः व्यवस्था संशोधन गरेर प्राथमिक पुँजी कोषमा ०.५ प्रतिशत र पुँजीकोष ११.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरिसकेको छ ।
हाल कृषि विकास बैंकको ११.७८ प्रतिशत, नेपाल बैंकको १०.९५ प्रतिशत, एभरेष्टको १०.८७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकको १०.८४ प्रतिशत, प्राइम कमर्सियल १०.४४ प्रतिशत, ग्लोबल आइएमईको १०.४४ प्रतिशत, लक्ष्मी सनराइजको १०.२७ प्रतिशत, सानिमाको १०.२२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १०.२१ प्रतिशत र नेपाल एसबिआई बैंकको १०.१० प्रतिशत प्राथमिक पुँजी कोष अनुपात छ ।
९ वटा बैंकको प्राथमिक पुँजी कोष भने ९ प्रतिशतको हाराहारीमा छ । प्रभु बैंकको ९.८९ प्रतिशत, एनएमबिको ९.७ प्रतिशत, सिद्धार्थको ९.६५ प्रतिशत, नबिलको ९.६४ प्रतिशत, माछापुच्छ्रेको ९.३५ प्रतिशत, सिटिजन्सको ९.२७ प्रतिशत र हिमालयनको ९.०४ प्रतिशत हाराहारीमा प्राथमिक पुँजी कोष अनुपात छ ।
प्राथमिक पुँजी अनुपात र पुँजी कोष अनुपात बैंकहरुले बहन गरेको कुल जोखिममको आधारमा हो । बैंक तथा वित्तीय संस्थाले पुँजीकोष सम्बन्धी व्यवस्थालाई पालना नगरेमा लाभांश वितरण गर्न नसक्ने व्यवस्था छ ।