मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले हालसम्म २ सय ५६ जना बालिकालाई ५ हजारस रुपैयाँहितको बैंक खाता उपहार दिएको जनाएको छ ।
गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो संख्यामा बालिकाको बैंक खातामा रकम जम्मा गरिदिएको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैंक खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यस प्रकारका बैंक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा भइसकेको जानकारी दिइन् ।
‘आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ,’ उनले भनिन्, ‘वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैंक खाता खोल्ने र त्यसमा गाउँपालिकाले पाँच हजार र अभिभावकलाई पनि ५ हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।’
छोरीका नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् ।
‘यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ,’ उनले भनिन्, ‘छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।’
उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैंक खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।
‘छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैंक जाने गरेको पाएका छौँ,’ उनले भने, ‘छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।’
हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ ।
कार्यक्रमबाट सुविधा लिनका लागि हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ ।
उक्त कार्यक्रमपछि उमेर पुगेपछि बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताए ।