
काठमाडौं । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियामा कामदार पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ । गत पुस १९ गतेदेखि रसियामा कामदार पठाउन श्रम स्वीकृति रोकिएकोमा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
‘श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा बिदामा आएका कामदारहरुको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/०९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया ग्रुप एलएलसी कम्पनीमा कामदार पठाउने छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारहरुको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले जनाएको छ ।
रसियामा धेरै नेपाली युवाहरु गैर कानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कबिहीन भइरहेको बेलामा श्रम मन्त्रालयले फेरि औपचारिक रुपमा कामदार पठाउने निर्णय गरेको हो । मन्त्रालयले पूर्व श्रम मन्त्री शरदसिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेपनि गोप्य रुपमा राखिएको सो निर्णयलाई नयाँ मन्त्री डोलप्रसाद अर्याल आएपछि मात्रै चैत १४ विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जसले मन्त्रालयको निर्णय प्रकृयालााई थप सशंकित बनाएको छ ।
