काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई महिनादेखि नेतृत्वविहीन छ । माघ तेस्रो साता पदावधि सकिएर बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो ।
सरकारले पर्यटन बोर्ड सञ्चालक समितिमा रिक्त तीन सदस्य नियुक्त गर्न पनि सकेको छैन । यसरी सीईओ र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्न नसक्दा पर्यटन बोर्डले दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि तथा कार्यक्रम गर्न सकेको छैन ।
यसअघिका सीईओ रेग्मीले विभिन्न स्वार्थका कारण कार्यकाल एक वर्ष बाँकी हुँदादेखि नै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि गरेका थिएनन् । जसको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छवि धुमिल हुनुका साथै नकारात्मक सन्देश प्रवाह भएको थियो ।
निर्वतमान सीईओ रेग्मीले बेलायतको लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्टमा नेपालको सहभागिता नगराएपछि उनी थप विवादित भएका थिए । रेग्मीको उक्त कदमको विरोध गर्दै पर्यटन व्यवसायीहरूले पर्यटन बोर्ड छाडेर आफैं उक्त मार्टमा सहभागी भएका थिए ।
बोर्ड नेतृत्वविहीन भएपछि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नयाँ सीईओ नियुक्तिका लागि तयारी थालेका थिए । तर, त्यसको केही समयपछि नै सत्ता गठबन्धन परिवर्तन भयो ।
सरकार परिवर्तन भएसँगै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनी मन्त्री भएको पनि महिना पुग्न लागिसकेको छ । तर, पर्यटन बोर्डका लागि सीईओ छनोट प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।
एक महिनाअघि पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा सीईओ नियुक्तिका लागि समिति गठन गरिएको थियो । तर, अहिलेसम्म पनि उक्त समितिले सीईओको आवेदन खुलाएको छैन ।
सीईओ छनोटका लागि मदन आचार्य, मिलन देवकोटा र महानिर्देशक बुढासहित तीन सदस्यीय समिति गठन गरिएको थियो । पर्यटन बोर्डमा पनि ‘चरम राजनीति’ घुसेका कारण नेतृत्वविहीन रहेको व्यवसायीहरू बताउँछन् ।
सीईओ नियुक्त नहुनु लज्जास्पद
पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ पर्यटन प्रवर्द्दनको क्षेत्र हेर्ने संस्था दुई महिनादेखि नेतृत्वविहीन हुनु यो क्षेत्रका लागि सुखद संकेत नभएको बताउँछन् । ‘नेतृव हाँक्ने लिडर नै नभएपछि संस्थाको अवस्था अस्तव्यस्त हुने नै भयो नि,’ उनी भन्छन्, ‘त्यहीमाथि पर्यटन बोर्डलाई राजनीतिले धेरै नै बिगार्यो ।’
बोर्डमा पर्यटनका विभिन्न निकायमा भएका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मान्छे हुनुपर्ने उनी बताउँछन् । पर्यटन बोर्डले गर्नुपर्ने र गर्न सक्ने धेरै विषय भएको उनको भनाइ छ ।
‘पर्यटन बोर्डले खाली सेल्स र मार्केटिङ मात्रै नहेरेर प्रडक्ट डेभलपमेन्टतिर पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो एयरपोर्टमा भिसा प्रोसेस गर्न पनि १ देखि २ घण्टासम्म लाग्छ, एयरपोर्टको सिनारियो र अवस्था हेर्दा कुनै पनि पर्यटक नआउने खालको छ अझै पनि, हामीले सुधार्नुपर्ने धेरै कुरा छन् ।’
कुनै पनि संस्थामा एउटा लिडरलाई काम गर्न दिइएन वा उसले कामै गर्न सकेन भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको भनाइ छ । ‘राइट मान्छे नेतृत्वमा आउनुपर्यो, उसलाई काम गर्ने वातावरण पनि सिर्जना गर्नुपर्यो,’ उनी भन्छन्, ‘त्यसैले बोर्डमा चाँडै नै सीईओ नियुक्ति गरेर नेपालको बिग्रेको छवि सुधार्न काम गरिहाल्नुपर्छ ।’
अर्का पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अहिले पर्यटन बोर्ड नेतृत्वविहीन हुँदै पूरै वेवारिसे अवस्थामा पुगेको बताउँछन् । पछिल्लो समय पर्यटन बोर्डले कुनै पनि प्रवर्द्धनका काम नै नगरेको उनको भनाइ छ ।
‘५० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने सरकारले पर्यटन बोर्डमा सीईओ नियुक्त गर्न नसक्नु लज्जाकै विषय हो,’ उनी भन्छन्, ‘नयाँ मन्त्री नियुक्त भए पनि पर्यटन क्षेत्रको अवस्था सकारात्मक भने छैन ।’
उनका अनुसार पर्यटन बोर्ड अहिले नेतृत्वविहीन भएको हो, तर योभन्दा अगाडि पर्यटन बोर्डको कार्यविधिका कारणले विदेशमा पर्यटन प्रवर्द्धनका प्रचारप्रसार गर्ने काम रोकिएको छ ।
‘आजभन्दा एक वर्ष अगाडि पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा केही काम गरेको छैन,’ उनी भन्छन्, ‘त्यसमा पनि नयाँ नेतृत्व आयो भने त्यो कार्यविधिलाई परिवर्तन गरेर काम गर्छ भन्ने व्यवसायीमा झिनो आशा छ ।’
होटलएसोसिएसन (हान) का अध्यक्ष विनायक शाह पर्यटन बोर्डमा बजेट भएको तर कार्यान्वयन गर्ने पक्ष नहुँदा विभिन्न कार्यक्रम प्रभावित भएको बताउँछन् । ‘अब त्यहाँ सञ्चालक समिति (बोर्ड) पनि कम्प्लिट छैन,’ उनी भन्छन्, ‘मुख्य कुरा कार्यकारी अधिकृत नै नभएपछि कसले लिने जिम्मेवारी ?’
के भन्छ पर्यटन बोर्ड ?
पर्यटन बोर्डका निर्देशक मणि लामिछाने अहिले सीईओ नियुक्तिका लागि कुनै प्रक्रिया अगाडि नबढेको बताउँछन् ।
‘सीईओ पद जनवरी १५ तारिखबाट खाली नै छ, अस्थायी रूपमा निमित्त कार्यकारी प्रमुख भनेर तोकिएको छ,’ उनी भन्छन्, ‘अहिले व्यवस्थापन समूहले चलाइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका काम भने अहिले ठप्प नै भइरहेको हो, अस्तिको बोर्ड बैठकले पनि यसलाई हल्का खुलाइदिने काम गरेको छ, अब धमाधम काम हुन्छ ।’
अहिले बोर्डमा तीन जना सदस्यको पद खाली छ । ‘तत्कालीन पर्यटनमन्त्री किराँतीको कार्यकालमा बोर्ड सदस्य छान्नका लागि कमिटी गठन भएको थियो,’ उनी भन्छन्, ‘केही दिनमै सरकार परिवर्तन भइहाल्यो, अब नयाँ पर्यटनमन्त्रीले पनि पर्यटन प्रवर्द्धनका विषयमा चासो, चिन्ता राख्नुभएको छ, केही दिनमा अगाडि बढ्छ होला ।’
यस्तै, पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ भने सीईओ नियुक्तिको प्रक्रिया धमाधम अघि बढिरहेको बताउँछन् । ‘नियम अनुुसार सञ्चालक समिति गठन गरेर सञ्चालक समितिले बोर्डको सीईओ नियुक्ति गर्ने प्रक्रिया सिफारिस गर्ने भन्ने हुन्छ,’ उनले भने, ‘त्यो प्रक्रिया धमाधम अघि बढिरहेको छ ।’
सीईओ नियुक्त हुन कति समय लाग्छ भनेर यकिन भन्न भने नसकिने उनले बताए ।
पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच, नेपाल सरकारले मनोनित गर्ने पाँच जना र सीईओ गरी ११ जना सञ्चालक समिति रहने व्यवस्था छ ।