आफ्नै समस्याले फुरेको दिलिशाको बिजनेस आइडिया

<p>काठमाडौं । उनीसँगै पढेका साथीहरू नेपालमा कोही छैनन् । कहिलेकाहीँ साथीहरूसँग गफ गर्न मन लाग्दा होस् या खाजा खान निस्कँदा कोही हुँदैन । त्यो बेला उनलाई एक्लो महसुस हुन्छ । तर, उनलाई यही कुरा सोचेर बस्ने फुर्सद भने छैन । आफूले सुरू गरेको व्यवसायलाई कसरी माथि उकास्ने, आफुले उत्पादन गरेको वस्तुलाई कसरी लक्षित वर्गमा पुर्याउन [&hellip;]</p>

काठमाडौं । उनीसँगै पढेका साथीहरू नेपालमा कोही छैनन् । कहिलेकाहीँ साथीहरूसँग गफ गर्न मन लाग्दा होस् या खाजा खान निस्कँदा कोही हुँदैन । त्यो बेला उनलाई एक्लो महसुस हुन्छ । तर, उनलाई यही कुरा सोचेर बस्ने फुर्सद भने छैन । आफूले सुरू गरेको व्यवसायलाई कसरी माथि उकास्ने, आफुले उत्पादन गरेको वस्तुलाई कसरी लक्षित वर्गमा पुर्याउन सकिन्छ भन्ने ध्याउन्नमा उनी हुन्छिन । उनी अर्थात नाम दिलिशा श्रेष्ठ ।

उनले महिनावारी पेन्टी उत्पादन गर्ने कम्पनी खोलेर अहिले सोही काम गरिरहेकी छन् । २२ वर्षकी एउटी किशोरीलाई नेपालमै केही गर्नुपर्छ, स्वरोजगार बन्नुपर्छ, त्यो पनि अरू भन्दा फरक व्यवसाय । यो जिज्ञासा हामीले उनीसँग राख्यौं । जवाफमा उनले भनिन्, ‘आफ्नै भोगाइले ।’

दिलिशाको परिवार नेपाली कपडाको म्यानुफ्याक्चरमा पहिल्यैदेखि काम गर्थ्याे। उनी १८ वर्षकी हुँदा उनले पनि काम गरिन् । नेपालबाट अमेरिका, अस्ट्रेलिया पठाउने गर्थिन् । उनी कपडाका बारेमा अलि नजिकबाट बुझ्थिन् । उनलाई अब आफैंले केही गर्नुपर्छ भन्ने त्यही बेलादेखि लागिसकेको थियो । तर, गर्ने के यसको लागि अध्ययन गर्न थालिन् ।

उनलाई महिनावारी हुँदा सबैभन्दा ठूलो पीडा कसरी रगतको व्यवस्थापन गर्ने भन्ने लाग्थ्यो । बजारको प्याड प्रयोग गर्दा चिलाउने, गन्ध आउने र रगत पुरै लुगामा लाग्दा हरेक महिनाको पाँच दिन पट्यार लाग्दा हुन्थे । महिनावारी व्यवस्थापनका लागि बजारमा प्याड बाहेक धेरै सामानहरू आइसकेका थिए । उनलाई यही विषयमा तर, फरक काम गर्न मन लाग्यो । उनले यो विषयमा अध्ययन गर्न थालिन् । उनले बजारमा आएका महिनावारीको रगत व्यवस्थापन गर्ने सामान प्रयोग गरिरहेका महिलाहरूलाई भेट्न थालिन् । उनीहरूको अनुभव सुनिन् । उनले आफ्नो जस्तै समस्या धेरै महिलाले भोगेको जानकारी पाइन् ।

त्यसपछि ल्यापटप लिएर सर्च गर्न थालिन् के हुन सक्छ उपर्युक्त सामाग्री । उनले खोज्दै जाँदा अन्डरवेरको बारेमा थाहा पाइन् । अमेरिका लगायत युरोपेली मुलुकमा महिनावारी पेन्टी प्रयोगमा आएको थाहा पाइन् । त्यसपछि उनले अब नेपालमै यही विषयमा काम गर्ने योजना बनाइन् ।

उनले बनाएको योजना साथीभाइलाई सुनाइन् । कतिपयले राम्रो काम गर भन्दै उत्प्रेणा जगाए, कसैले भने नेपालमा बसेर यस्तो काम गर्दा के होला भन्ने अड्कलाबाजी काटे । दिलिशालाई भने मनबाटै अब म यो काम गर्छु भन्ने लागिसकेको थियो । उनले आफ्नो योजनाबारे घरमा भने बताइनन् । किनकी उनलाई थाहा थियो घरपरिवारबाट साथ पाइँदैन भनेर । किनकी उनको बाआमालाई छोरी पढेर सकेपछि विदेश जाओस् नभए नेपालमै भएपनि राम्रो काम गरोस् भन्ने थियो ।

‘परिवारको सोच एकातिर मेरो सोच अर्कोतिर, कुरै मिलेन उनी भन्छिन्, ‘म जे गर्छु भन्ने सोच बनाउँछु, त्यो पुरा गरेरै छाड्छु, चाहे घाटा होस् या नाफा, यो काम पनि मैले सोच बनाएँ, अहिले गरिरहेकी छु ।’

त्यसपछि स्थापना भयो ‘फ्लोई भेन्चर’

कुनै पनि काम गर्ने मन लाग्यो भन्दैमा भोलिदेखि नै गर्न असम्भव छ । त्यसका लागि केही नीति नियमको पनि पालना गर्नुपर्छ । कुनैपनि उद्योग व्यवसाय सुरु गर्दा संस्था दर्ता गर्नुृपर्छ । दिलिशाले नेपालमा महिनावारी पेन्टी उत्पादन गर्ने निर्णयमा उनका चार जना साथीले सहयोग गरे । सबैजना मिलेर कम्पनीको नाम तय गरे ।

कम्पनीको नाम रह्यो ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ । कम्पनी दर्ता गर्न कहाँ जाने, के गर्ने भन्ने थाहा थिएन । उनले सोध्दै, बुझ्दै थाहा पाइन् । कहिले के नमिल्ने, कहिले केही नमिल्ने हुँदा एउटै कार्यालय पनि दई/तीन पटक धाउनु पर्यो । कतिपय कार्यालयमा जाँदा झर्केर बोल्ने, असहयोगी व्यवहार हुन्थ्यो भने कतिपयले राम्रो व्यवहार गर्थे ।

‘आफूलाई काम गर्नुछ भने नम्र हुनुपर्ने रहेछ, ‘आफ्नो काम फुत्काउनु थियो त्यसका लागि पनि म नम्र बालेर प्रस्तुत हुन्थें, धेरै कुराहरू अनुभवले पनि सिकाउँदो रहेछ,’ सरकारी कार्यालयमा भोग्नु परेको भोगाइ सुनाउँदै उनले भनिन् ।

महिनावारी पेन्टीको उत्पादन

दिलिशाको कम्पनीले उत्पादन गर्ने ‘महिनावारी पेन्टी’ हो । यो लगाएपछि महिनावारी हुँदा प्याड लगाउनु पर्दैन । यसले ब्लड निस्कने बित्तिकै सोस्छ । यो कपडा नेपालमा पाइँदैन । भारत र चीनबाट ल्याउनुपर्छ । तर, सिलाउने काम नेपालमै गरिन्छ ।

यसलाई कसरी तयार पार्ने भनेर एक जनाले फ्याक्ट्रीमै बस्नुपर्छ । सप्लायर्ससँग कुरा गरेर कपडा ल्याइन्छ । सो कपडा म्यानुफ्याक्चरिङमा पठाएर डिजायन कटिङ गरी मास्टरसँग बसेर सिलाउने र त्यसपछि गुणस्तर जाँच गरेर सामान तयार पारिन्छ । यसरी तयार पारिएको पेन्टी बजारमा पठाइने गरिन्छ ।

दिलिशाले अफिसका लागि घरबाट डाइनिङ टेबुल ल्याइन् । पाँच जना साथीहरू एउटा टेबुलमा बसेर काम सुरू गरे । ‘सास फेर्न बाहिर आउनुपथ्र्यो,’ उनी भन्छिन् ‘कोठाभरी कपडा थिए, खाली ठाउँ नै थिएन ग्वाम्म परेको कोठामा राम्ररी हावासमेत पस्दैन थियो स्वास नै राम्ररी फेर्न मिल्ने थिएन ।’

८ महिना त्यही गोदामबाट काम सुरु भयो । त्यसपछि न्यूरोडमा दुइटा प्ल्याट भाडामा लिएर काम गर्न सुरु गरियो । अहिले पनि त्यहीबाट काम भइरहेको छ । यस्तो अवस्थाबाट सुरु गरेको व्यवसाय राम्ररी चलिरहेको थियो । अनलाइन, टिकटक, चिनेजानेकाहरूले सामान लिइरहेका थिए । तर, अहिले महिनावारी पेन्टीको माग बजारमा बढेको छ ।

‘थोरै लगानीबाट काम सुरु गरेकोले होला, अहिले पनि पैसा भएपनि अनावश्यक कुरामा खर्च गरिहाल्न मन लाग्दैन,’ उनले सुनाइन् ।

महानगरले दिएन पाँच लाख रुपैयाँ

उनले काम सुरु गरेकै बेला युएनडीपी र काठमाडौं महानगरको साझेदारीमा ‘हामी बनाउँछौँ हाम्रो काठमाडौँ’ भन्ने अभियान अन्तर्गत काठमाडौँ इम्प्याक्ट हबले केही फरक तर स्वास्थ्य र वातावरणलाई असर नपर्ने खालको व्यवसाय गर्न चाहने युवाहरू खोजेको थियो । दिलिशाले त्यसमा आवेदन दिइन् । त्यसमा १० जना युवालाई पाँच÷पाँच लाखका दरले रकम दिने भनिएको थियो ।

१० जनामा छनोट भए । तर, उनले अझै पैसा पाएकी छैनन् । त्यो कार्यक्रम पछि उनलाई धेरै जनाले चिने र उनको बिजनेसबारे धेरैलाई जानकारी भयो । उनका अनुसार दुई वर्षदेखि काठमाडौं महानगरले पाँच लाख रुपैयाँ दिएको छैन ।

‘पैसाका लागि महानगर धाउदा धाउँदै गलिसकेँ । तर, पैसा पाइएको छैन, जनप्रतिनिधि, कर्मचारी परिवर्तन भए, सिस्टम पुरै परिवर्तन भयो, कोही म्याद सकियो भन्छन्, कोही यसको म्याद थप्नलाई मिटिङ बस्नुपर्छ भन्छन्, पैसा पाउने छाँटकाँट छैन,’ निराश हुँदै उनले भनिन् ।

टिकाउ पनि, सस्तो पनि

‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ ले उत्पादन गरेको महिनावारी पेन्टीको मूल्य १ हजार २ सय रुपैयाँ पर्छ । झट्ट सुन्दा महँगो जस्तो लागे पनि यो लामो समयसम्म टिकाउ हुन्छ ।

महिनावारी हुँदा करिव दुई/तीन सयको प्याड किन्नुपर्छ । यो १२ महिनाको दरले हिसाब गर्दा पनि वार्षीक तीन/चार हजार रुपैयाँ प्याडको लागि खर्च गर्नु पर्ने हुनछ । तर, प्याडको तुलनामा यो सस्तो छ । यो पेन्टी एक पटक किन्दा वर्ष दिनसम्म टिकाउ हुन्छ ।

उनले यो व्यवसाय सुरु गरेको तीन वर्ष पुरा भयो । तीन वर्षको अवधिमा उनले इन हाउस इन्टर्न, पार्टटाइम र मार्केटिङ गरी १२ जना कर्मचारी राखेकी छन् । २० लाखबाट सुरू गरिसकेको व्यवसाय अहिले करोडौंको पुगेको छ ।

उनले बनाएका पेन्टी प्रयोग गर्ने ६० प्रतिशत महिला उपत्यका भित्रैका छन् । बाँकी ४० प्रतिशत मात्र उपत्यका बाहिर जाने गरेको उनको भनाइ छ । अब दक्षिण एशियामा आफूले उत्पादन गरेको पेन्टी पठाउने उनको योजना छ । उनी विस्तारै माग पनि बढ्दै गएको बताइन् ।

टिकटक बन्द भएपछि समस्या

दिलिशा नेपालमै बसेर केही गर्छु भन्दा पनि गरिखाने वातावरण नभएको गुनासो गर्छिन् । उनले सञ्चालन गरेको व्यवसायको मार्केट भनेको अनलाइन हो । त्यसमा पनि सामाजिक सञ्जालमा अर्डर धेरै आउँछ । फेसबुक इन्स्टाग्राम मार्फत महिलाहरू अर्डर गर्ने गर्छन् । अझ यसको मुख्य ग्राहक तान्ने स्रोत भनेको टिकटक थियो ।

तर, सरकारले टिकटक बन्द गरेपछि आफ्नो व्यवसायमा ५० प्रतिशत गिरावट आएको उनको गुनासो छ । ‘पहिले टिकटकबाटै यो विषयमा बुझाउन सकिन्थ्यो,’ उनी भन्छिन्,‘ धेरैले यो विषयमा बुझ्थे, चित्त बुझे अर्डर गर्थे । तर, अहिले टिकटक नै बन्द भयो, मेरा ग्राहक नै घटे ।’

उनी अहिलेका स्थानीय जनप्रतिनिधि र सरकारले राम्रो सिस्टम बनाइदिए मात्र पनि आफुहरूलाई काम गर्न सजिलो हुने बताउँछिन् । कुनै पनि सामान आफैंले उत्पादन गर्यो भने त्यसलाई मार्केटसम्म पुर्याउन अहिले सबैभन्दा सहज भनेको अनलाइन छ । सामाजिक सञ्जालले झन सहयोग गर्छ । तर, सरकारले अनलाईन र यस्ता सामाजिक सञ्जाल नै बन्द गरिदिन थालेपछि आफूहरू जस्ता व्यवसायीलाई समस्या भएको उनको भनाइ छ ।

कर्जा पाउन पनि सकस

सरकारले व्यवसाय गर्ने महिला उद्यमीलाई सस्तो ब्याजमा कर्जा दिने सरकारले घोषणा गरिरहेको छ । तर, उनले आफूले सस्तो ब्याजभन्दा पनि कर्जा नै नपाएको गुनासो गरिन् । उनले आफूले कर्जाका लागि विभिन्न बैंक धाएको लामो समय भएपनि नपाएको बताइन् ।

उनले पहुँच नभएकालाई कर्जा पाउन पनि मुस्किल रहेको सुनाइन् । सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गरेर अगाडि लग्नु पर्ने ठाउँमा वास्ता नै नगर्दा समस्या भएको गुनासो गरिन् । यसमा सरकारले मनिटरिङको काम मात्र गरिदिने हो भने आफूजस्ता उद्यमीलाई सजिलो हुने उनी बताउँछिन् ।

‘अहिले हरेक सरकारी विद्यालयमा सरकारले प्याड बाँड्छ, त्यसको सट्टा नेपालमा उत्पादन भएका फेरि प्रयोग गर्न मिल्ने खालका सामानहरू वितरण गरिदिए छात्रालाई पनि सजिलो र हामीलाई हौसला मिल्थ्यो,’ उनले भनिन् ।

आशा र निराशाभित्र व्यवसाय

दिलिशा अहिले २४ वर्षकी भइन् । नेपालमै फरक व्यवसाय सुरु गर्दा आशा र चिन्ता पनि छ । आशा विस्तारै महिलाहरू यो विषयमा जानकार हुँदैछन् । भोली रामै्र गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । नेपालको राजनीतिक माहोल, नीति नियमले कतै गर्न सकिँदैन की भन्ने त्रास पनि उनमा छ । उनलाई यो विषयले कहिले काहीँ पिरोल्छ पनि ।

अहिले उनकासामु चुनौतीका चाङ छन् । उनलाई निराशा हुँदा विदेश जान मन लाग्छ । तर, आफ्नो मिहिनेत हेर्दा नेपालमै गर्छु भन्ने लाग्छ ।

‘म के गरिरहेछु, के मैले साँच्चिकै राम्रो काम गरिरहेको छु त? यहाँ बसेर मेरो भष्यि छ कि छैन भन्ने प्रश्न अहिले पनि उठ्छ,’ उनी भन्छिन्, ‘यहाँको मानिसले मलाई बुझछन् कि बुझदैनन् भन्ने लाग्छ, सबैजना विदेश गएको देख्दा कता/कता एक्लोपन महसुस हुन्छ । तर, मैले यो किन सुरु गरेको थिएँ भन्ने कुराले काम गर्नलाई धकेलिरहेको हुन्छ ।’

उनी आफूलाई कसैले नपत्याइरहेको बेला आफैंले आफैंलाई पत्याएर व्यापार गरेर उनी सुनाउँछिन् । ‘एक्लोपना, खालिपना, रित्तोपना हुन्छ, सिस्टम त केही छै, यो देशमा म किन बसिरहेको छु भन्ने लाग्छ,’ निराश हुँदै उनी थप्छिन् ।

पछिल्लो समय साथीभाइ तथा आफन्तहरू उनलाई विदेश जाँदा उनलाई पनि धेरैले विदेश जान सल्लाह दिन्छन् । तर, उनी स्वदेशमै केही गर्न चाहन्छिन् ।

एकातिर पढाइ, अर्कोतिर विज्नेस गर्दा समय मिलाउन गाह्रो हुन्छ । तर, उनी मिलाउन जान्यो भने सहज हुने बताउँछिन् । नेतृत्व कला भयो भने समय मिलाउन पनि सकिन्छ । उनी बिहान ५ बजे उठरे कलेज जान्छिन् । ८ बजेर राति ८ बजे पुग्छिन् ।

घरमा गएर पनि उनलाई सुतिहाल्न मन लाग्दैन । बजारमा के सामान नयाँ आएको छ भन्दै खोजि गर्छिन् । भोलि/पर्सीको काम कसरी बनाउने योजना बनाउँछिन् ।

उनी भन्छिन्, ‘शरीर थाकिसकेको हुन्छ, दिमागले सोचिरहेको हुन्छ ।’

Share News